यार्सा पाउन छोडेपछि धमाधम घर फर्किदै यार्सा सङकलक

Posted on: 08 May, 2016

सम्राट सिंह/ बैशाख २६, बझाङ ।  विकट हिमाली जिल्ला बझाङबाट यार्सा सङकलन गर्न लेकतिर गएका यार्सा सङकलकहरु धमाधम घर फर्किन थालेका छन । लेकमा करिब एक हप्ता बस्दापनि यार्सागुम्बा नभेटाए पछि यर्सा सङकलकहरु घर फर्केका हुन । यार्सा सङकलन गर्ने स्थानमा पर्याप्त हिँउ र पानी नपरेपछि यार्साको टुसा जमिन भन्दा माथी नआएकाले यार्सा भेटाउन कठिन भएको मेलबिसौना गाविस का यार्सा सङकलक सुरेन्द्र सिंहले बताए । उनले भने यार्सा नभेटाएपछि लेकबाट आफुसँगै १७ जना यार्सा संकलकको टोली घर फर्केका हौँ । छोटो समयमा राम्रो आम्दानि हुने भएकाले जिल्ला भित्र र बाहिरबाट झण्डै ३० हजार भन्दा बढी यार्सा संकलक लेकतिर जाने गर्दछन । जिल्लाको सबैभन्दा बिकट गाविस काँडा को नाका भएर निलकट्टी , कालापानी, राइढुंगी, माझा र अमलागाड भन्ने स्थानमा यार्सा संकलन गर्न गएका यार्सा संकलकहरु केहि फर्कि सकेको र केही फर्किने क्रम जारी रहेको छ । त्यस्तै सुर्मा र दौलिचौर गाविसको नाका भएर गएका यार्सा संकलकहरु पनि फर्किने क्रम जारी रहेको दौलिचौर गाविसका चक्र बोहोराले बताए । मुुख्य आम्दानीको स्रोत यार्सा पनि पाइएन खडेरीका कारण उब्जनी पनि नभएका कारण यसबर्ष बझाङमा भोकमरी हुने समेत उनको भनाइ छ । खडेरी कारण यसबर्ष बझाङमा ७५ प्रतिशत उब्जनी घटेको छ । यसबर्ष लेकमा हिमपात कम भएका यार्सागुम्बा उत्पादनमा कमी आउने जिल्ला बन कार्यालयका रेन्जर हेमराज पाठकले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!