खिजीफलाटेमा पहिलो पटक बजार अनुगमन

Posted on: 20 Mar, 2017

चैत्र ७, खिजीफलाटे-ओखलढुंगा । कुनै यस्तो समय थियो, ओखलढुुंगाको खिजीक्षेत्रमा ढाकर टेकुवा लगाएर मानिसले बोकेर खाद्यन्न समान गाँउमा लैजाने र स्थानीयले वर्षौँ सम्म राखेर खाने । यो धेरै पुरानो होईन करिब ३ वर्ष अगाडिको वास्तविकता हो । त्यसबेला न त कसैले उपभोग्य मिति हेरेर समान किन्थे न त कसैले म्याद भएका मात्रै सामान बेच्थे । तर अहिलेको अवस्था निकै सुधार भईसकेको छ । सचेतनाको विकास र सडक निर्माणसँगै गाउँ गाउँमा सवारी पुगेपछि जिल्लाकै दुर्गम र पछि परेको भनिएको क्षेत्रका स्थानीयको जिवनशैलीमा एकाएक परिवर्तन आउन थालेको छ । 

इतिहाँसमै पहिलो पटक बजार अनुगमन

इतिहाँसमै कहिल्यै नभएको बजार अनुगमन हुन थालेको छ । ईलाका प्रशासन कार्यालय स्थापना भएपछि खिजीदेम्बा गाउँपालिकाको प्रस्तावित केन्द्रमा रहेको खिजीफलाटे बजार अनुमगन गर्न थालिएको हो । खिजीफलाटे बजार खिजीदेम्बा गाउँपालिकाको प्रमुख व्यापारीक केन्द्र पनि हो । यसअघि पटक पटक स्थानीयले गुनासो गरेको विषयमा सञ्चारमाध्यमहरुमा समाचार सार्वजनिक गरेर खबरदारी गरेको भएपनि अनुगमन गर्ने निकाय गाउँमा नहुँदा अनुगमन र कारबाहि हुनसकेको थिएन । 

ओखलढुंगाको जिल्ला सदरमुकाम देखि करिब १३ कोष टाढा रहेको ईलाका प्रशासन कार्यालय खिजीफलाटेको सक्रियता र ईलाका प्रहरी कार्यालयको समन्वयमा पछिल्लो केहि दिन अघि बजार अनुगमन गरिएको छ । ईलाका प्रशासन कार्यालयका प्रमुख महेश लाल मण्डलको नेतृृत्वमा ईलाका प्रहरी प्रमुख अशोकराज अधिकारी,बजार व्यवस्थापन समितिका संयोजक राकेश सुनुवार,नयाँ शक्ती नेपाल खिजीफलाटेका संयोजक तारा बल तामाङ, शिक्षक,अगुवा तथा स्थानीय पत्रकार लगायतको सहभागितामा बजार अनुगमन गरिएको जनाइएको छ । 


अनुगमनका क्रममा बजारमा अवस्थित पसल तथा होटलहरुको अनुगमन गरि पसल तथा होटल दर्ता भएको नभएको,मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्रीवितरणको लागि अनुमतिपत्र लिए नलिएको,उपभोग्य सामानको म्याद भए नभएको,सामानको मूल्य सुची यकिन भए नभएको र पसल तथा होटलको साइनबोर्ड भए नभएको शीर्षकमा रहेर अनुगमन गरिएको ईलाका प्रशासन कार्यालय प्रमुख महेशलाल मण्डलले बताउनुभयो । बजार अनुगमनको क्रममा धेरै जसो पसल तथा होटलहरुको दर्ता र साइनबोर्ड नभएको भेटिएको उहाँको भनाई छ । अनुगमनकै सिलसिलामा केही स्थानीय पसल र होटलबाट उपभोग्य म्याद गुज्रीएका सामानहरु बरामत गरि नष्ट गरिएको भिजन नेपाल ओखलढुंगा साप्ताहिकमा खबर छ ।

मापदण्डमा आउन निर्देशन 

खिजीफलाटेमा दर्ता नभएका पसल तथा होटलहरुलाई ७ दिन भित्रमा सरकारी मापदण्ड अनुसार दर्ता पक्रियामा आउन निर्देशन दिईएको छ । ईलाका प्रशासन प्रमुख मण्डलले बजार अनुगमनकै क्रममा व्यवसाय दर्ता गर्न र प्रत्येक पसल तथा होटलमा अनिवार्य रूपमा साइनबोर्ड राख्न,मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्रीवितरणको लागि सम्बन्धित निकायबाट अनुमतिपत्र ल्याउन निर्देशन दिनुभएको हो ।

 मण्डलले अर्को पटक  अनुगमन गर्दा त्यसो नगरेको पाइएमा कानुनी कारबाहिगर्ने चेतावनी समेत दिनुभएको छ । पछिल्ला दिनहरुमा छड्के अनुगमन हुने  र यस्तो अनुगमनलाई सिमित नराखी व्यापक बनाइने इलाका प्रशासन कार्यालय खिजीफलाटेले जनाएको छ । -शेर साङ्गे शेर्पाबाट 


यस बिषयमा तपाइको प्रतिक्रिया...!