ओखलढुंगामा बुबाको क्रियापुत्री छोरी आफैँ बसिन्

Posted on: 05 Dec, 2016


पूर्णप्रसाद न्यौपाने / मङ्सिर २०, ओखलढुंगा । छोराले मात्रै बुबा आमाको काजकिरीया गर्ने नेपाली चलनलाई ओखलढुंगाको तलुवा १ की इन्दिरा कटवालले चुनौती दिएकी छन् । नसा सम्बन्धी रोगका कारण बुबा रामजी कटवालको ५७ वर्षको उमेरमा मंसिर १४ गते निधन भएपछि इन्दिरा आफैँ बुबाको किरीयापुत्री बनेकी हुन् । आमाले ३ वर्षको हुँदा छोडेर हिँडेपछि बुबासँगै बस्दै आएकी इन्दिराले बुबाको निधन पछि आफ्नो बुबाको किरीया आफैँ गर्ने भनेपछि सहयोग गरेर उनैलाई काममा राखिएको ईन्दिराका काका कुल बहादुर कट्वालले बताउनुभयो । १८ वर्षिया ईन्दिरा परिवारकी एक्ली छोरी हुन् । 


करिब एक दशक अघि देखि उपचार गराईरहेका रामजी कटवालको उपचारकै क्रममा मंसिर १४ गते ओखलढुंगा सामुदायिक अस्पतालमा निधन भएको थियो । उपचार गराउँदा गराउँदै भएभरको सबै सम्पत्ती सकिएपछि अस्पतालले पछिल्लो समय निशुल्क उपचार गरिदिएको थियो । 


छोरा छोरा भनेर दौडिने नेपाली समाजलाई चुनौति दिन र बाँचुन्जेल चासो नदिने अनि मरेपछि किरीया गर्न मात्र जम्मा हुने नेपाली समाजलाई चुनौती दिन आफ्ना स्वर्गीय बुबाको अन्त्येष्टिलगायतका सम्पूर्ण क्रियाकर्म आफैंले सुरु गरेको इन्दिराको भनाई छ । सानैमा छाडेर हिँडेकी आमा सम्पर्कमा नरहेको र बुबाको पनि निधन भएपछि साह्रै एक्लो महसुस भएको उनले बताउने गरेकि छन् । 


समाजमा छोराकै पछि लाग्नेहरुका लागि यो गतिलो जवाफ भएको स्थानियको केदारबाबु बस्नेतले बताउनुभयो । इन्दिराको शिक्षा,दिक्षाको व्यवस्थापन गर्नका लागि सबैले सहयोग गरेर गर्न आवश्यक रहेको उहाँको बस्नेतको भनाई छ । इन्दिराले छोरीहरु पनि छोरा सहर समाजका अभिन्न अङ्ग हुन भन्ने भएको सन्देश दिएकी छिन् । 


 


यस बिषयमा तपाइको प्रतिक्रिया...!