पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा झापा र इलाममा

Posted on: 27 Sep, 2024

असोज ११, काठमाडौँ । देशभर पछिल्लो १२ घण्टायता मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकासहित अधिकांश स्थानमा भारी वर्षा मापन गरिएको छ।


महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा भएको छ। कोशी प्रदेशको झापा, इलामलगायत क्षेत्रमा अति भारी वर्षा भएको विवरण आएको छ। झापाको अनारमणीमा २०३ मिलिमिटर, चन्द्रगढी विमानस्थलमा २६० मिलिमिटर, र इलाममा २४३ मिलिमिटर वर्षा मापन गरिएको छ।
काठमाडौँ उपत्यकामा पनि भारी वर्षा मापन गरिएको छ। कीर्तिपुरमा ८४ मिलिमिटर, बूढानीलकण्ठमा ६५ मिलिमिटर र अन्य स्थानमा ६० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ। ललितपुरको लेलेमा ११५.५ मिलिमिटर र गोदावरीमा ९३.८ मिलिमिटर वर्षा भएको छ।
महाशाखाले दिएको जानकारीअनुसार अहिले सबै प्रदेशमा निरन्तर वर्षा भइरहेको छ र भोलि दिनभर पनि वर्षा जारी रहने सम्भावना छ। निरन्तरको वर्षाका कारण उपत्यकासहित देशभरका मुख्य नदी तथा खोला, विशेषगरी बागमती, विष्णुमती, धोबीखोला, कर्मानासा, र हनुमन्ते खोलामा जलसतह उच्च भएको छ।
जल तथा मौसम विज्ञान विभागले मोबाइल मार्फत सूचना पठाएर नदी तटीय क्षेत्रमा यात्रा गर्ने तथा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बागमती नदी, खोकना, मनोहरा, गौरीघाट, बल्खु खोला, र विष्णुमती गोङ्गबु बसपार्क नजिकका जलमापन केन्द्रहरूले सतर्कता तह पार गरेको र जलसतह बढिरहेको विभागले जनाएको छ।
वर्षा नेपालमा सक्रिय मनसुनी वायु र भारतको उत्तर मध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीको कारण भएको महाशाखाले उल्लेख गरेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!