रास्वपाको राष्ट्रिय भेला: रविको प्रतिवेदन छलफलबिनै पारित हुने

Posted on: 18 Sep, 2024

असोज २, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौंमा जारी राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिहरूले धारणा राख्न नपाउने भएका छन्।

केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबारदेखि जारी छ। भेलामा केन्द्रीय समिति, निकाय, विभाग, प्रदेशका पार्टी संरचना, जिल्ला र पालिकास्तरीय समितिबाट करिब १५ सय प्रतिनिधि छन्।


भेलामा सभापति रवि लामिछानेले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल नै नभइ अनुमोदन गरिने भएको छ । काठमाडौंको प्रज्ञा भवनमा मंगलबारदेखि सुरु भएको राष्ट्रिय भेलामा हिजो प्रदेश स्तरीय प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोग, संसदीय अभ्यास लगायतका विषयमा प्रतिवेदन पेस भएका थिए।

ती प्रतिवेदनमाथि आज छलफल गरि अनुमोदन गर्ने कार्यतालिका छ। ती प्रतिवदेनहरुमा सामूहिक छलफलका लागि केही समय छुट्याइएको भए पनि पार्टी सभापतिले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि भने छलफलका लागि समय नै छुट्याइएको छैन।

भेलामा सात प्रदेशका प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोग प्रतिवेदन माथि सामूहिक छलफलको कार्यतालिका बुधबार विहान ७ देखि ११ बजेसम्मका लागि तोकिएको थियो । दस्तावेजमा आधारित प्रश्नोत्तर ११:४५ देखि २:४५ बजेसम्मका लागि समय निर्धारण गरिएको छ ।

सभापति बाहेक अन्यले पेश गरेका प्रतिवेदनको आवश्यक संशोधनको समय ३:१५ देखि ४:३० बजेसम्मका लागि समय छुट्याइएको छ । त्यसपछि सभापतिको राजनीतिक प्रतिवेदन पेश हुने र अनुमोदन गर्ने कार्यतालिका बनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!