धनगढीको नोभा हस्पिटलमा बिरामिको मृत्युपछि तनाव, प्रहरीले हान्यो तीन राउण्ड अश्रुग्यास

Posted on: 27 Jul, 2024

साउन १२, धनगढी । धनगढीस्थित एक निजी अस्पतालमा उपचाररत १७ वर्षीय युवकको मृत्युको विषयलाई लिएर  धनगढी बजार तनावग्रस्त बनेको छ।

सामान्य अवस्थामा ल्याइएका कञ्चनपुर बेलौरीका १७ वर्षका नसिब चौधरीको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तले ढुंगामुढा प्रहार गर्दै तोडफोड गरेका छन् ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले अस्पताल बाहिर भेला भएको समूहले ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको बताए ।

उनका अनुसार अश्रुग्यास प्रहार गरेपछि अहिले उनीहरु तितरबितर भएका छन् भने अस्पतालले मृतकका आफन्तसँग वार्ता गरिरहेको छ । जन्डिसको समस्या लिएर ७ साउनमा अस्पताल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको थियो ।

आफन्तले अस्पतालको लापरवाहीका कारण उनको मृत्यु भएको भन्दै शव बुझ्न मानेका छैनन् भने डाक्टरलाई कारवाही र क्षतिपूर्तिको माग गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!