सौर्य एयर दुर्घटनाका घाइते पाइलट शाक्यलाई आईसीयूबाट वार्डमा सारियो

Posted on: 26 Jul, 2024

साउन १०, काठमाडौँ । गत बुधबार (साउन ९) सौर्य एयरको विमान दुर्घटनामा घाइते भएका पाइलट (क्याप्टेन) मनिष रत्न शाक्यलाई आईसीयूबाट नर्मल वार्डमा सारिएको छ। काठमाडौँ मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक प्रा.डा. मीना थापाका अनुसार, उनलाई शुक्रबार बिहान आईसीयूबाट  नर्मल वार्डमा सारिएको हो। 

दुर्घटनालगत्तै सुरुमा शाक्यलाई आकस्मिक कक्ष (ईमर्जेन्सी)मा पुर्‍याइएको थियो। जतिबेला उनको आँखामा चोट लागेको थियो भने शरिरका अन्य भागबाट रगत आएको थियो। केहीबेर आकस्मिक कक्षमा उपचार गरेपछि शाक्यलाई सोही दिन आईसीयूमा लगेर उपचार थालिएको थियो। 

चिकित्सकहरूले उनको मेरुदण्डमा समस्या रहेको भन्दै अपरेसन गर्नुपर्ने बताएका थिए। यद्यपि, अहिलेसम्म उनको मेरुदण्डको अपरेसन भएको छैन। 

‘अपरेसन गर्ने कि नगर्ने भन्नेबारे हड्डीको विशेषज्ञसँग कुरा हुँदैछ,’ डा. थापाले भनिन्। 

त्यस्तै, उनले आईसीयू कक्षबाटै बिहीबार घटनाबारे सामान्य जानकारी दिएका थिए। ।’ उनका अनुसार, त्यतिबेला उनले आफूले टेकअफ गरेर १ सय मिटर माथि पुग्नेबित्तिकै जहाज आफ्नो कन्ट्रोलमा नआएको चिकित्सकहरूसँग सुनाएका थिए। 

‘यो दुर्घटनाबारे छानबिन सुरु भइसकेको छ। छानबिनको विषय भएकाले हामीले उपचारमा रहनुभएका पाइलटसँग धेरै सोध्ने कुरा भएन।’

विमानस्थलको कोटेश्वरतर्फ रनवे ०२ बाट उडेको सौर्यको विमान बिहान ११ बजेर ११ मिनेटमा दुर्घटनामा परेको थियो। विमान दुर्घटनामा १८ जनाको ज्यान गएको थियो।


यस बिषयमा तपाइको प्रतिक्रिया...!