सौर्य जहाज दुर्घटना: कर्मचारीको टोली लिएर पोखरा उड्दै थियो जहाज, यात्रुहरूको शव निकालिँदै (अपडेट)

Posted on: 24 Jul, 2024

साउन ९, काठमाडौँ । काठमाडौंबाट पोखरा उड्ने क्रममा सौर्य एयरलायन्सको जहाज दुर्घटना भएको खुलेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको हो । जहाजमा चालकदलसहित १९ जना बताइएको छ ।

दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका पाइलट मनिष शाक्यको भने जीवित उद्धार गरिएका छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।


यात्रुहरू भने अधिकांश हताहति भएको स्रोतले बतायो । उद्धार टोलीले मृतक यात्रुहरूको शव दुर्घटनास्थलबाट धमाधम निकालिरहेको छ । कति संख्यामा शव भेटियो भन्ने आधिकारिक जानकारी गराइएको छैन ।

सौर्य एयरलाइन्सका अनुसार पोखरामा मेन्टेनेन्सको कामका लागि कर्मचारीहरू लैजान लागिएको थियो । अधिकांश इन्जिनियर र प्राविधिकहरू थिए । जहाजमा सर्वसाधारण यात्रु थिएनन् ।

रन वे ०२ बाट टेक अफ लिने क्रममा पूर्वतर्फ रन वे २० मा जहाज दुर्घटना भएको हो । गृहमन्त्री रमेश लेखक विमानस्थलमा पुगेका छन् । घटनालगत्तै उनी त्यहाँ गएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!