आफ्नै बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ

Posted on: 23 Jul, 2024

साउन ८, काठमाडौं । झापाको हल्दीवारी गाउँपालिकामा आफ्नै बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेको छ । हल्दीबारी गाउँपालिका–२ पाराखोपी बजारपूर्व आफ्नै बाबुको हत्या आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको हो ।

गएराति २ बजे पाराखोपीका ६३ वर्षीय बासु राजवंशी आफ्नै घरको आँगनमा रहेको लिचीको बोटमा झुन्डिएको अवस्थामा फेला परेका थिए । मृतकको टाउको र आँखामा चोट देखिएको छ ।


राजवंशीको मृत्यु शङ्कास्पद देखिएपछि उनका छोरा करिब ३० वर्षीय सुनिललाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । डीएसपी चन्द नेतृत्वको टोलीले अनुसन्धान गरेपछि मृतक राजवंशीका छोरा सुनिललाई नियन्त्रणमा लिएको हो ।

झुन्डिएको अवस्थामा फेला परेका राजवंशीको टाउको, अनुहारसहित शरीरका विभिन्न भागमा चोट लागेको र अनुहारभरि रगत देखिएको वडा अध्यक्ष शुकलाल राजवंशीले बताए । 

सुनिललाई नियन्त्रण लिएर जिल्ला प्रहरी कार्यालय झापा लगिएको छ भने मृतकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ । मृतक बासु र उनका छोराबिच त्यस रात झगडा भएको बताइएको छ । छोराको लुगामा समेत रगत भेटिएको डीएसपी चन्दले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!