देब्रे हात भाँच्चिएर उपचार गर्न जाँदा दाहिने हातमा प्लास्टर

Posted on: 17 Jul, 2024

साउन २, काठमाडौँ । देब्रे हात भाँच्चिएर उपचारका लागि आएका एक जना बालकको दाहिने हातमा प्लास्टर गरिएको तस्वीर मंगलबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

जिल्ला अस्पताल बझाङमा स्वास्थ्यकर्मीको लापर्बाहीले यस्तो भएको भन्दै अस्पतालका कर्मचारीलाई सञ्जाल प्रयोगकर्ताले आलोचना गरिरहेका छन् ।

बझाङको दुर्गाथली गाउँपालिका–७, दौलाका ७ वर्षीय सुनिल दौल्याल आइतबार साँझ घरको ढोकानजिकै खेल्ने क्रममा लडे ।

हात भाँच्चिएको आशंका भयो । अस्पताल टाढा थियो । उनलाई पट्टी बाँधेर घरेलु उपचार गरियो । भोलिपल्ट सोमबार बिहानै सुनीललाई उनका दाइ आदेश दौल्यालले जिल्ला अस्पताल सिमखेत पुर्‍याए ।


सोमबार दिउँसो तीन बजेतिर अस्पताल पुर्‍याइएका उनको एक्सरे गर्दा देब्रे हातको कुइनामा भाँच्चिएको देखियो । चिकित्सकले शल्यक्रिया गर्नुपर्ने बताए । सुनीललाई वार्डमा भर्ना हुन लगाए ।

केही बेरमा आएका नर्सहरूले हातमा प्लास्टर गर्नुपर्ने भनेर वार्डबाट बालकलाई अर्को कोठामा लगे । कुरुवा गएका आदेश सोही कोठाको बाहिर राखिएको कुर्सीमा बसेका थिए ।

प्लास्टर सकिएपछि ‘भोलि अपरेसन हुन्छ’ भन्दै स्वास्थ्यकर्मीले सुनीललाई कुरुवा बसेका दाइ आदेशको जिम्मा लगाए ।

तर, क्यान्टिनमा पुगेपछि भाइको हात हेर्दा त भाँच्चिएको हातमा नभई अर्को हातमा प्लास्टर गरिएको रहेछ । भाँच्चिएको हातमा नभई अर्को हातमा प्लास्टर भएपछि कुरुवा आदेशले भिडिओ बनाएर फेसबुकमा पोस्ट गरे ।

मंगलबार साँझ फेरि शल्यक्रियापछि बुधबार अस्पतालले सुनीललाई डिस्चार्ज गरेको छ । भाँच्चिएका हड्डीलाई तारको सहयोगले जोडेर शल्यक्रिया भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!