नौ दिनदेखि बेपत्ता सिक्किमका पूर्वमन्त्री पौड्याल मृत भेटिए

Posted on: 17 Jul, 2024

साउन २, काठमाडौँ । सिक्किमका पूर्वमन्त्री आरसी पौड्यालको शव भेटिएको छ । पौड्याल बेपत्ता भएको नौ दिनपछि सिलगढी नजिकैको नहरमा उनको शव भेटिएको हो । पौड्याललाई खोज्न सिक्किम सरकारले एसआईटी गठन गरेको थियो ।

मंगलबार सिलगढीको फुलबारीस्थित टिस्टा नहरमा ८० वर्षीय पौड्यालको शव तैरिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । शव टिस्टा नदीको माथिल्लो भागबाट बगेको हुनसक्ने आशङ्का गरिएको छ । घडी र कपडाबाट शवको पहिचान गरिएको हो ।

पौड्याल जुलाई ७ देखि पाक्योङ जिल्लास्थित गृहनगर छोटा सिंगतामबाट बेपत्ता भएका थिए । उनको खोजी गर्न विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको थियो । पौड्यालको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पौड्याल सिक्किम विधान सभामा उपसभामुख थिए । पछि उनी राज्यको वन मन्त्री भए ।

७०/८० को दशकको उत्तरार्द्धमा सिक्किम राज्यको राजनीतिक परिदृश्यमा पौड्याललाई महत्त्वपूर्ण व्यक्तित्व मानिन्थ्यो । उनले राइजिङ सन पार्टी खोलेका थिए । सिक्किमको सांस्कृतिक र सामाजिक गतिशीलताबारे उनमा गहन बुझाइ थियो ।

‘आरसी पौड्यालको असामयिक निधनले म अत्यन्तै दुःखी छु । उनी प्रतिष्ठित वरिष्ठ राजनीतिक नेता थिए । उनले सिक्किम सरकारमा मन्त्रीको रूपमा विभिन्न पदहरूमा सेवा गरेका थिए ।’ 

पौड्यालको निधनप्रति सिक्किमका मुख्यमन्त्री पीएस तामाङले आरसीप्रति दुःख व्यक्त गर्दै भनेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!