एञ्जल बस चालकका छोराछोरीको अध्ययनको जिम्मेवारी वीरगञ्ज महानगरले लिने

Posted on: 17 Jul, 2024

साउन २, काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले सिमलताल पहिरोमा परी हराइरहेका एञ्जल बसका चालक जवाहीर महतोको तीनजना छोराछोरीको अध्ययनको सम्पूर्ण जिम्मेवारी लिने भएको छ । 

आज  बिहान वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले एञ्जल बसका चालक जवाहीर महतोको परिवारसँग भेट गरेका थिए ।


‘बालबालिकाको अध्ययनको सम्पूर्ण जिम्मेवारी महानगरले लिनेछ’, नगरप्रमुख सिंहले भने, ‘जवाहीरको परिवारको जीविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगरले योजना बनाएर कार्यान्वयन गर्नेछ ।’

जवाहीरका एक छोरी र दुई छोरा छन् । महतोले चलाएको बागमती प्रदेश ०३ ०१-०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रि बस गत शुक्रबार बिहानीपख भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा परेर त्रिशूली नदीमा खसेको थियो ।

नगरप्रमुख सिंहले आजै एञ्जल बसमा सवार भएर दुर्घटनामा परेका अन्य परिवारका सदस्यलाई पनि भेट गर्दै महानगर पीडित परिवारको साथमा रहेको बताएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!