सिमलताल दुर्घटना: बस र यात्रु गोताखोरले नभेटेपछि ‘सोनार’ क्यामराबाट खोजी, भारतबाट पनि विज्ञ ल्याइँदै

Posted on: 16 Jul, 2024

साउन १, काठमाडौँ | ६५ यात्रु रहेको २ बस बगाएको घटनामा १३ वटा मात्र शव भेटिएपछि नयाँ ढंगबाट खोजी सुरु भएको छ । सोमबारसम्म नारायणी नदीका विभिन्न ठाउँमा १५ शव भेटिए पनि बाँकीको अवस्था अज्ञात छ ।

१२ वर्षदेखि गोताखोरको काम गरिरहेका सशस्त्र प्रहरीहरूले नभेटेपछि पानीभित्रका वस्तुहरूको संकेत दिने उपकरण ‘सोनार क्यामरा’ प्रयोग गरेर खोजी थालिएको हो ।

सोमबारदेखि प्रयोगमा ल्याइएको ‘सोनार’ उच्च क्षमताको भएको सशस्त्र प्रहरीको चितवन कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयका सहसमादेशक एसपी जनक पुरीले बताए ।


‘सोनार क्यामरा’ले तीन सय मिटर गहिराइसम्मको सूचना दिने छ । ‘‘यसअघि प्रयोग भएको सोनार क्यामराले पानीभित्र वस्तु छ या छैन भन्नेसम्म संकेत दिन्थ्यो । अहिलेको क्यामराले वस्तुको आकार, आकृति नै देखाउँछ । यसले गर्दा खोज्न सहज हुने छ’’ उनले भने ।

नदीको पानी धमिलो भए पनि ‘सोनार’ले गर्ने काममा केही फरक पर्दैन । यसअघि पुरानो ‘सोनार’ले गरेको संकेतका आधारमा शनिबार गोताखोरहरू त्रिशूलीभित्र गएका थिए । तर, केही भेटिएको थिएन ।

अहिले नयाँ उपकरण लिएर उद्धार टोली मोटरबोटमाथि नै ‘स्क्रिन’ राखेर खोज्दै घटनास्थलबाट अगाडि बढेको छ । घटनास्थलबाट ५० किलोमिटर परको गोलाघाटसम्म खोज्दै जाने छ । ‘सोनार’ले खोज्न सुरु गरेपछि घटनास्थलमा टोली नै बसेर गर्ने खोजतलास स्थगित गरिएको छ ।

त्रिशूलीमा पानी धमिलो छ । धमिलो भएकाले भिजिबिलिटी शून्य जस्तै छ । बहाव निकै उच्च भएकाले जोखिम पनि धेरै छ । चुनौतीका बाबजुद पनि गोताखोरहरू निरन्तर खोजीमा लागिरहेका थिए । बर्खाको पानीमा लेदो, मुढा, दाउरा जस्ता अनेकौँ बाधा पुर्‍याउने वस्तुको सामना गर्दै  अहिलेको टोलीले खोजी गरिरहेको छ ।

शुक्रबार बिहानीपख काठमाडौंबाट गौर आउँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस पहिरोमा पुरिएका थिए । नारायणगढदेखि २२ किमि पूर्वोत्तर भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएको हो । बस नदीमै पुगे पनि गणपति यातायातका तीन यात्रुले पौडेर ज्यान जोगाएका थिए । भने बाँकी यात्रु बससँगै बगेका हुन् ।

चितवन प्रशासनले गौर आउँदै गरेको बसमा ३८ र काठमाडौं जाँदै गरेको बसमा २७ गरी ६५ यात्रु रहेको जानकारी दिएको छ । ३ जना सकुशल थिए । सोमबारसम्म नारायणी नदीका विभिन्न ठाउँमा भेटिएका १५ शवमध्ये सातवटा शव सिमलताल दुर्घटनामा बेपत्ताको रहेको पुष्टि भएको छ । अन्य ४३ यात्रुको अवस्था अज्ञात छ ।

बेपत्ता बस खोज्न भारतबाट विज्ञ ल्याइने

दुई बस र धेरै यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि सरकारले त्यसको खोजीका लागि अन्तर्राष्ट्रिय विज्ञसहितको उद्धार टोली ल्याउन लागेको छ ।

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा. भीष्मकुमार भुसालले सोमबार नै भारतबाट विज्ञसहितको उद्धार टोली मगाउन परराष्ट्रमार्फत पत्राचार गरिएको जानकारी दिए ।

उनले घटना भएको पाँच दिन बितिसक्दा गाडीको अवस्था पत्ता लाग्न नसकेकाले अन्तर्राष्ट्रिय विज्ञ टोली नै मगाएर खोजी गर्न लागिएको बताए । गृह मन्त्रालयका अनुसार अहिले पनि पाँच सय साक्षरकर्मी परिचालन गरेर नेपालमा भएका  सबै प्रविधिको प्रयोग गरी खोजी जारी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!