‘सिमलतालमा पहिलो पटक पहिरो खसेको हो, यसअघि पहिरो गएको थिएन’

Posted on: 12 Jul, 2024

असार २८,  काठमाडौं ।  २९ किलोमिटर दूरी भएको नारायणगढ-मुग्लिङ सडक क्षेत्रमा नियमितजसो पहिरो जाने भएकोले सडक डिभिजन कार्यालय चितवनले कालीखोला, नाम्सीपुल, मौरीपुल र तुइनखोला गरी चार वटा पहिरोको जोखिमजन्य स्थान पहिचान पनि गरेको छ । तर, हिजो बिहानैदेखि लगातार परेको पानीले ती चार स्थानमा पहिरो झारेन ।

सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहका अनुसार अन्य स-साना पुलेसाहरुबाट पनि ससाना पहिरो झर्ने गरेको छ । हिजो पनि ससाना पहिरोले थोरैथोरै समय बाटो रोकिने खुल्ने भइरहेको थियो ।

तर, राति एक्कासि सिमलतालको पुल वारि मुग्लिङदेखि २३ किलोमिटर ५ सय मिटर नारायणगढतर्फ एक्कासि लेदोसहित आएको पहिरोले दुई यात्रुबाहक बस नै त्रिशूलीमा खसायो ।


जसका कारण दुइटा बसमा सवार ६५ हाराहारीमा यात्रु बेपत्ता छन् । बस पनि त्रिशूली नदीमा डुबेको छ । इन्जिनियर साह भन्छन्, ‘हामीले पहिचान नै नगरेको ठाउँमा पहिलो पटक लेदोसहितको पहिरो खसेको हो ।’

घटनास्थल पुगेर फर्किएका चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसाल पनि यसअघि पहिचान नै नभएको ठाउँमा पहिरो खसेर ठूलो दुर्घटना भएको बताउँछन् ।

बस बगाएकोमात्रै होइन लेदोसहितको पहिरोले रातिदेखि नै बाटो अवरुद्ध गराएको कालीखोलाको पहिरो पनि नयाँ भएको इन्जिनियर साहले बताए ।

यसैबीच अहिले नारायणगढ मुग्लिङ सडकको पहिरो पूर्ण रुपमा पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एक प्रहरी अधिकारीका अनुसार पहिरो पन्छाइ अहिले बाटो सञ्चालनमा आएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!