ग्यासमा दुई थरी मूल्य कायम गर्ने तयारी

Posted on: 11 Jul, 2024

असार २७, काठमाडौँ ।  खाना पकाउने एलपी ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी भइरहेको छ । घरायसी र व्यावसायिक प्रयोजनका लागि छुुट्टाछुुट्टै मूल्य कायम गर्ने तयारी गरिएको नेपाल आयल निगमले जनाएको हो । 

राष्ट्रिय परिचयपत्रका आधारमा ग्राहकलाई दोहोरो मूल्य कायम गरी सहुलियत दिने तयारी गरेको निगमले जनाएको छ । पाँचतारे होटेलदेखि सडक पेटीमा चिया बिक्री गर्ने र सर्वसाधारण उपभोक्तालाई एउटै मूल्य हुँदा उपभोक्ता मारमा परेका छन् । 

हाल घरायसी र व्यावसायिक प्रयोजनका लागि एउटै मूल्य कायम गरिएको हो । बजारमा खाना पकाउने एलपी ग्यासको मूल्य एक हजार ९१० रुपियाँ रहेको छ । एलपी ग्यासमा परल मूल्य कायम गरी घरायसी प्रयोजनमा उपभोग गर्नेलाई ‘क्यास ब्याक’ गर्ने योजना रहेको निगमले जनाएको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका तत्कालीन सहसचिव गजेन्द्रकुमार ठाकुरको संयोजकत्वमा गठित समितिको सुझाव प्रतिवेदनका आधारमा निगमले परल मूल्य कायम गरी घरायसी प्रयोजनमा प्रयोग हुने ग्यासमा नगद फिर्ता दिने तयारी अगाडि बढाएको हो । यो खबर आजको गोरखापत्र दैनिकमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!