रोजगारीको आश्वासन दिएर जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा सन्ध्या चुँडाल पक्राउ

Posted on: 08 Jul, 2024

असार २४, काठमाडौँ । रोजगारीको आश्वासन दिएर महिलाहरूलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले विराटनगरबाट झापाको बिर्तामोड नगरपालिका– ८ गरामनी घर भई विराटनगरमा बस्दै आएकी २४ वर्षीया सन्ध्या चुँडाललाई पक्राउ गरेको छ ।


चुँडालले विराटनगरको नयाँ गुद्री बजारमा भाडामा लिएको फ्ल्याटमा राखेर महिलालाई जबर्जस्ती यौन व्यवसायमा लगाएको प्रहरीको दाबी छ । प्रहरीले विराटनगर– ११ नयाँ गुद्रीबजारस्थित फ्ल्याटबाट २१ देखि २३ वर्ष उमेर समूहका ६ जना महिलालाई उद्दार गरेको छ । उद्दार गरिएका महिलाहरु काठमाडौं, काभ्रेपलाञ्चोक, स्याङ्जा र उदयपुरका १, १ जना र झापाका २ जना रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

होटलमा जागिर दिने भन्दै विराटनगर ल्याएर चुँडालको समूहले अवैध रुपमा होटलमा तथा ग्राहकले भनेको ठाउँमा महिलाहरुलाई यौन व्यवसायका लागि पठाउने गरेका थिए ।प्रहरीले चुँडालको समूहले महिलाहरुलाई भनेको स्थानमा जान नमाने यातना दिने गरेको पाइएको बताएको छ ।

चुँडाल र सुनसरीको इनरुवा घर भएका अन्दाजी ३० वर्षीय राजकुमार साहले नयाँ गुद्रीमा फ्ल्याट भाडामा लिएर महिलाहरुलाई राख्ने गरेका थिए । साह फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!