इजरायलमा नेपाली श्रमिक पठाउने निर्णय तत्काल रद्द गर्न माग

Posted on: 02 Jul, 2024

असार १८, काठमाडौं | अभियन्ताहरूले युद्धरत इजरायलमा रोजगारीका लागि नेपाली नागरिकलाई नपठाउन आग्रह गरेका छन् ।

श्रम तथा रोजगार मन्त्रालयले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरका रूपमा नेपाली कामदार पठाउने प्रक्रिया अगाडि बढाएको छ ।

अभियन्ताहरूले सरकारको उक्त निर्णय तत्काल रद्द गर्न माग गरेका हुन् ।

अभियन्ताहरूले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘मानवताका सबैमापदण्डहरु उल्लङ्घन गर्दै संयक्तु राष्ट्र संघको शान्ति प्रयत्नको अवहेलना गर्दै  युद्धरत इजरायलमा रोजगारीका लागि नेपाली नागररकलाई पठाएर उनीहरुको जीवनप्रति खेलवाड नगर्न नेपाल सरकार र श्रम, रोजगार तथा सामापजक सुरक्षा मन्त्रालयलाई हामी आग्रह गर्दछौं ।’

वक्तव्यमा सरकारलाई ‘नेपाली श्रमिकको बाँच्न पाउने मौलिक हकको सवालसँगै उनीहरूलाई इजरायलमा पठाउनु भनेको इजरायलले गरेको नरसंहारमा नेपालको सहयोग/समर्थन रहेको हो ?’ भनेर प्रश्नसमेत गरिएको छ ।

२०२३ अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाएका थिए । एकजना अझै बेपत्ता छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!