पछिल्लो २४ घण्टामा बाढी, पहिरो र चट्याङबाट १४ जनाको मृत्यु, दुई बेपत्ता

Posted on: 26 Jun, 2024

असार १२, सिरहा । पछिल्लो २४ घण्टामा बाढी, पहिरो र चट्याङका घटनाबाट देशभर १४ जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् भने ९ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बितेको २४ घण्टामा पहिरोका घटनाबाट आठ जना, चट्याङ लागेर पाँच जना र बाढीमा परी १ जनाको मृत्यु भएको हो ।

बाढीका घटनामा परी दुई जना बेपत्ता भएका छन् । घाइतेमध्ये पाँच जना पहिरो, तीन जना चट्याङ लागेर र एक जना बाढीमा परी भएका छन् ।

पहिरोका घटनामा परी ओखलढुंगमा एक, लम्जुङमा पाँच र कास्कीमा दुई जनाको मृत्यु भएको छ । लम्जुङको क्व्होलासोथार गाउँपालिका–३ स्थित बगुममा पहिरोले तीनवटा घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने दुई जना बालिका बेपत्ता भएका छन् ।

चट्याङ लागेर झापामा दुई जना, रोल्पामा दुई जना र सुनसरीमा एक जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!