ललितपुरमा एक पुरूषमाथि खुकुरी प्रहार

Posted on: 21 Jun, 2024

असार ७,  काठमाडौँ । ललितपुरमा एक जनामाथि खुकुरी प्रहार भएको छ। 

ललितपुर महानगरपालिका-९ छेडामा ४० वर्षीय मनोज कुमार बानियाँमाथि शुक्रबार दिउँसो १२:४५ बजे खुकुरी प्रहार भएको हो। 

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार छेडामा बतासे कटेज सञ्चालनका लागि संरचना निर्माण गर्दै गरेको अवस्थामा उनीमाथि एक समूहले खुकुरी प्रहार गरेको हो। 

बानियाँ केही महिना अघि मात्रै विदेशबाट आएका थिए। 

'कटेज निर्माण भइरहेको रहेछ। रंगरोगनको काम चलिरहँदा उनी एक्लै भएको बेलामा खुकुरी प्रहार भएको रहेछ,' एसपी सुवेदीले भने। 

उनका अनुसार केही दिनअघि पनि एक समूहसँग बानियाँको विवाद भएको थियो। ‍

शुक्रबार बानियाँका साथीहरू खाना खान गएको बेलामा उनीमाथि खुकुरी प्रहार भएको एसपी सुवेदीले जानकारी दिए। उनको हात र पछाडिको भागमा खुकुरी प्रहार भएको छ। 

उनलाई उपचारका लागि मेडिसिटी अस्पताल पुर्‍याइएको छ। 

एसपी सुवेदीका अनुसार खुकुरी प्रहार गर्नेको पहिचान भइसकेको छैन। 

'हामी खोजीरहेका छौं,' उनले भने।

यस बिषयमा तपाइको प्रतिक्रिया...!