भ्रष्टाचारविरोधी अभियन्ताको नाममा ठगी गरेको आरोपमा ४ जना पक्राउ

Posted on: 18 Jun, 2024

असार ४, काठमाडौँ । भ्रष्टाचारविरुद्धको अभियन्ताका नाममा ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ का ३१ वर्षीय राजु सुनार, गोकर्णेश्वर–८ का २६ वर्षीय आदर्श क्षेत्री, गोकर्णेश्वर–१ कि २० वर्षीया अस्मिता खत्री र गोकर्णेश्वर–२ का ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ छन् । उनीहरुलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेका हो ।

उनीहरूले आफूहरू ‘भ्रष्टाचारविरोधी अभियन्ता भएको बताउँदै विभिन्न निकायमा ‘रेड’ हान्न पुग्थे ।


कर छली गरेको, भ्रष्टाचार गरेको भन्ने उजुरी परेको र त्यस विषयमा छानबिन गर्न आएको यो समूहले ठगी गर्दै आएको प्रहरीको भनाइ छ । सबै हिसाबकिताब देखाऊ भन्दै असम्बन्धित सूचना माग्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्काउने, मुद्दा हालदिन्छु भनी आतंक सृजना गरी भिडिओ बनाई रकम असुल्ने गरेको बताइएको छ ।

त्यसरी खिचिएका सामग्री उनीहरूले युट्युवलगायत सामाजिक सञ्जालमा राखी चरित्र हत्या गरेको भन्दै प्रहरी वृत्त बौद्दमा जाहेरीसमेत परेको थियो ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा ‘बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान’ नामक संस्था खोलेर उनीहरू विभिन्न वडामा शाखा समेत विस्तार गरी सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना, टोल सुधार एवं उपभोक्ता समितिमा अनुसन्धान गर्न भन्दै जाने गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!