सीता एयरले ठक्कर दिँदा घाइते भएका स्टेशन प्रमुख काठमाडौँ रिफर

Posted on: 23 May, 2024

जेठ १०, सुर्खेत | हिमाली जिल्ला मुगुको ताल्चा विमानस्थलमा उड्न लागेको जहाजले ठक्कर दिँदा घाइते भएका मुगु स्टेशन प्रमुख धीरेन्द्र भामलाई काठमाडौँ रिफर गरिएको छ ।  घाइते भएपछि अचेत अवस्थामा रहेका भामलाई सोही एयरको विमानमार्फत उपचारका लागि नेपालगन्ज लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि काठमाडौँ रिफर गरिएको हो । 

जिल्ला प्रहरीका कार्यालय मुगुका अनुसार आज १२ बजेतिर ताल्चाबाट नेपालगन्जका लागि उड्न लागेको सीता एयरको ट्विनअटर जहाजको अघिल्लो भागको पङ्खाले भामलाई ठक्कर दिएको थियो । 

जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी, प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीका अनुसार उनी गम्भीर घाइते भएको र उनलाई नेपालगन्ज हुँदै काठमाडौँ पठाइएको हो ।

उनका अनुसार भामले जहाजका चालकलाई जहाज उडान गर्न सङ्केत गरिरहेका थिए । जहाज बिस्तारै गुडिरहेका बेला चालकले बोलाएपछि भाम जहाजतर्फ गइरहेका थिए । त्यही बेला जहाजको अघिल्लो भागको पङ्खाले ठक्कर दिएपछि उनी घाइते भएका हुन् । भामको टाउको धेरै चोट लागेको सूचना अधिकारी कार्कीले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!