विवाहको एक साता पनि नबित्दै श्रीमानमाथि वैवाहिक बलात्कारको मुद्दा

Posted on: 23 May, 2024

जेठ १०, काठमाडौँ | विवाहको एक साता पनि नबित्दै काठमाडौंमा एक महिला वैवाहिक बलात्कारको उजुरी लिएर प्रहरीकहाँ पुगेकी छिन् ।

श्रीमान्‌ले आफूलाई मन लागेको बेला शारीरिक सम्पर्क राख्ने गरेको, नमान्दा कुटपिट गर्ने गरेकोलगायत आरोपसहित ती महिला गत वैशाख १४ गते प्रहरीकहाँ पुगेकी हुन् । उनको वैशाख ७ गते बत्तिसपुतलीस्थित एक रेस्टुरेन्टमा विवाह भएको थियो ।

वैदेशिक रोजगारीका लागि जापानमा विगत १० वर्षदेखि बस्दै आएकी  कमला (परिवर्तित नाम) को यो दोस्रो विवाह हो । पारिवारिक चिनजान रहेका दीपक (परिवर्तित नाम) सँग प्रेम सम्बन्ध रहेपछि दुई महिनाअघि उनी विवाहका लागि नेपाल आएकी थिइन् । कमलाको पहिलो विवाह पनि प्रेम विवाह नै रहेको प्रहरी स्रोत बताउँछ ।


तर, जापानमै रहेका श्रीमान्‌सँग सम्बन्ध बिग्रिएपछि उनी दोस्रो विवाह गर्ने अवस्थामा पुगेकी थिइन् । दीपकको पनि यो दोस्रो विवाह थियो । १३ वर्षअघि विवाह गरेकी श्रीमतीसँग १० वर्षपछि सम्बन्ध विच्छेद भएपछि उनले कमलासँग नजिकिएर दोस्रो विवाह गरेका हुन् ।

नयाँ बानेश्वरमा बस्दै आएका दीपकले वैशाख १३ गते राति यौन सम्पर्क राख्न खोज्दा नमानेपछि विवाहमा दिएको सबै सुनका गरगहना खोसेको जाहेरवालाको दाबी छ । 

यता दीपकले त्यस दिन आफ्ना बुबासँग कमलाले ‘तपाईँको छोराको अन्य केटीहरूसँग सम्बन्ध रहेछ’ भनेको र त्यो कुरा आफूले थाहा पाएपछि दुईजनाबीच सामान्य विवाद भएको प्रहरीसँगको बयानमा उल्लेख गरेका छन् । आफूले सम्झाउन कोठामा लैजाँदा कमला लड्न पुगेको पनि उनको दाबी छ । कोठामा पुगेपछि स्थिति सामान्य भएको र बिहान कमलालाई उनको दिदीले बालकोटस्थित घर कुर्न बोलाएकाले आफूले पुर्‍याइदिएको पनि बयानमा बताएका छन् । 

यता जाहेरवालाकी दिदीले विवाहको दुई दिनमै श्रीमानले दाइजो र विवाह भोजको रकम मागेको भनेर आफूलाई कमलाले फोनमा भनेको बताएकी छिन् । दीपकविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ । उनलाई ५ वर्ष कैद सजाय गर्न माग गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!