साउदी अरबलाई ६ विकेटले हराउदै एसीसी प्रिमियर कपमा नेपाल अपराजित

Posted on: 17 Apr, 2024

बैशाख ५, काठमाडौँ | एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ। यसअघि नै समूह बिजेता बनेको नेपाल आजको जितिसँगै समूहचरणमा अपराजित हुँदै सेमिफानल प्रवेश गरेको हो। 

टह हारेर पहिले ब्याटिङ गर्दै साउदीले ७४ रनको लक्ष्य नेपालसामु प्रस्तुत गरेको थियो। जवाफ ब्याटिङमा उत्रिएको नेपालले ७ दशमलव २ ओभरमा मात्र ४ विकेट गुमाएर उक्त लक्ष्य पूरा गर्‍यो। 

नेपालका लागि गुलशन झाले सर्वाधिक ३२ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले १७ तथा रोहितकुमार पौडेलले १६ रन बनाए। कुशल भुर्तेल शून्य रनमै आउट हुँदा आशिफ शेख र कुशल मल्लले दुई/दुई रन मात्र बनाए। 

यता बलिङमा साउदीका लागि इश्तियाक अहमदले २ तथा उसमान नजीव र वाजी वो हसनले एक/एक विकेट लिए। यो हारसँगै समूह उपविजेता बन्दै सेमिफानल जाने साउदीको यात्रा यहिँ रोकिएको छ। नेपाल रहेको समूहबाट नेपाल र हङकङ सेमिफालन प्रवेश गरेका छन्।  

टस हारेर ब्याटिङको निम्तो पाएको साउदीले निर्धारित ८ ओभरमा ७ विकेट गुमाउँदै रन ७३ बनायो। हिजो राति हावाहुरीसँगै पानी परेर पिज खराब भएपछि खेल नेपाली समयअनुसार ११ बजेर ४५ मिनेटमा हुने भनिए पनि सवा दुई बजेबाट मात्र सुरु भएको थियो।

सोही कारण पनि खेलमा दुवै टिमको १२/१२ ओभर घटाएर ८/८ ओभरमा झारिएको थियो। साउदी अरबका लागि सर्वाधिक १५ बलमा तीन चौका र तीन छक्काको सहयोगले अब्दुल वाहिदले ३७ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि करण केसी र अविनास बोहोराले दुई/दुई विकेट लिँदा ललितराज वंशी र प्रतिश जिसीले एक/एक विकेट लिए।

प्रतियोगितामा नेपालले एक खेलअगावै समूह विजेताका रुपमा सेमिफाइनलमा स्थान बनाइसकेको छ। प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रन तथा तेस्रो खेलमा हङकङलाई ८ विकेटले हराएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!