आगो निभाउने क्रममा नेपाली सेनाका ४ जना गम्भीर घाइते

Posted on: 08 Apr, 2024

चैत २६, सुर्खेत । डोल्पामा डढेलो नियन्त्रण गर्ने क्रममा नेपाली सेनाका ४ जना गम्भीर घाइते भएका छन् । आइतबार दिउँसोदेखि सुरु भएको आगो नियन्त्रणका लागि सोमबार देवीदत्त गुल्मको सैनिक टोली खटिएको थियो ।

त्यहाँ पुगेका १६ जनामध्ये ४ जना सैनिक गम्भीर घाइते भएको जिल्ला प्रशासन कार्यालय डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीले जानकारी दिए ।


गम्भीर घाइते हुनेमा ३० वर्षीय विजय कोइराला, ३८ वर्षीय केसर बहादुर दर्जा मगर, २३ वर्षीय अशिष बुढा र २८ वर्षीय हेमन्त रावत रहेका छन् । १२ जना सामान्य घाइते छन् ।

गम्भीर घाइतेहरूलाई सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको छ ।

आइतबार दिउँसोदेखि डोल्पाको सदरमुकाम दुनै नजिकै रहेको ठुली भेरी नगरपालिका-३ मा रहेको मष्टा भवानी सामुदायिक वनमा डढेलो लागेको थियो ।

सामुदायिक वनमा लागेको आगो अत्यधिक हावाहुरीका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!