गोली प्रहार गरी लुटपाट: स्थानीयको घेराउमा परेपछि झोला फालेर भागेका थिए लुटेरा

Posted on: 15 Mar, 2024

चैत २, काठमाडौँ | मनी ट्रान्स्फरका सञ्चालकलाई गोली हानेर पैसा लुट्ने समूह प्रहरी नियन्त्रणमा आएको छ । भारतबाट आएको एक समूहले शुक्रबार रौतहटको ईशनाथ नगरपालिका–७, खापडचोकस्थित शिवम् मनी ट्रान्स्फरका सञ्चालक नितेश साहलाई कन्चटमा गोली हानेर पैसा लुटेको थियो ।

रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठका अनुसार पैसा लुटेर भाग्ने क्रममा स्थानीयको घेराउमा परेपछि उनीहरू पैसाको झोला फालेर भागेका थिए । पैसा कति लुटिएको थियो र कति फिर्ता भयो भन्नेबारे यकिन भइसकेको उनले बताए ।


प्रहरीका अनुसार गोली प्रहार गर्ने समूह भारतको बिहारस्थित मोतिहारीको पूर्वी चम्पारणबाट आएको हो । समूहमा मुनेशकुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंह रहेका छन् ।

उनीहरूलाई मोटर साइकलमा भाग्दै गरेको अवस्थामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । उनीहरूलाई नेपाल बोर्डर आउट पोस्ट रामपुरखापबाट घिउरा नाकामा खटिएको सशस्त्र प्रहरी हवल्दार लक्ष्मणसिंह ठगुन्नासहितको टोली र प्रहरी चौकी जयनगरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल र एक थान मोटरसाइकल बरामद गरिएको एसपी श्रेष्ठले जानकारी दिए ।

गोली प्रहारबाट गम्भीर घाइते भएका मनी ट्रान्स्फरका सञ्चालक २६ वर्षीय साहको वीरगन्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!