चुनाव हारेकी श्रीमती राष्ट्रिय सभामा नजाने निश्चित भएपछि मसालले नवगठबन्धनको विरोध: सूर्य थापा

Posted on: 05 Mar, 2024

फागुन २२, काठमाडौं | पुरानो ७ दलीय गठबन्धन परिवर्तन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसहितका दलसँग मिलेर बनाएको नयाँ गठबन्धनको विरोध जनाएपछि नेकपा मसालप्रति एमाले नेता सूर्य थापाले कडा टिप्पणी गरेका छन् ।

सोमबार बनेको नयाँ गठबन्धनलाई मसालले विरोध जनाएको थियो । मसालका महामन्त्री मोहनविक्रम सिंहले सोमबार विज्ञप्ति जारी गर्दै प्रतिगमनलाई बल पुग्ने गरी गठबन्धन बनेको भन्दै आपत्ति जनाएका थिए

मसालको विज्ञप्तिपछि एमाले नेता थापाले महामन्त्री सिंहले आफ्नी श्रीमतीलाई राष्ट्रिय सभामा लैजान गरेको प्रयास असफल भएपछिको रियाक्सन भनेका छन् । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्षसमेत रहेकी पूर्व सांसद दुर्गा पौडेललाई राष्ट्रिय सभामा मनोनीत गर्न मसालले माग गर्दै आएको थियो ।


एमाले नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चुनाव हारेकी श्रीमती राष्ट्रिय सभा सदस्य नहुने निश्चित भएपछि त फेरि प्रतिगमनलाई बल पुग्ने नै भयो, मगन्ते हुनुको दुःख छ राजनीतिमा …उडायो सबै सपना हुरीले।’

पौडेल मसालका महामन्त्री सिंहकी श्रीमतीसमेत हुन् । ०७४ मा वाम गठबन्धनबाट प्युठानमा उम्मेदवार बनेर प्रतिनिधि सभामा आएकबी उनी गत वर्ष भने प्युठानबाटै एमाले नेता थापासँग भारी मतले पराजित भएकी थिईन् । प्रतिनिधि सभामा पराजित पौडेललाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गराएर राष्ट्रिय सभामा लैजाने प्रयास भएको थियो । तर, सोमबार पूरानो गठबन्धन दुर्घटनामा परेपछि पौडेलको राष्ट्रिय सभाको यात्रामा ब्रेक लाग्ने देखिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!