असोज ११ मा ‘ह्रस्व दीर्घ’, फर्स्टलुकमा ब्रह्मानन्दमको पण्डित अवतार

Posted on: 01 Feb, 2024

माघ १८, काठमाडौँ | आगामी वर्षको दशैंमा फिल्म रिलिजको चाप देखिने भएको छ । ‘बलिदान’ र ‘छक्का पञ्जा ५’ले दशैं ‘रिजर्भ’ गरिसकेको अवस्थामा अब फिल्म ‘ह्रस्व दीर्घ’ पनि थपिएको छ । बिहीबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी असोज ११ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरिएको हो । पोस्टरमा साउथका चर्चित अभिनेता ब्रह्मानन्दम चित्रित छन् । उनलाई ‘पण्डित’ अवतारमा देख्न सकिन्छ ।


पोस्टरमा ब्रह्मानन्दम दुई फरक मनोभावमा देखिएका छन् । ढाकाटोपी लगाएका उनको निधारमा चन्दन देखिन्छ । एउटामा उनी हर्षित मुद्रामा छन् भने अर्कोमा अचम्मित भावमा प्रस्तुत छन् । उनको भागको छायांकन गत वर्ष भारतस्थित रामोजी फिल्म सिटी (स्टुडियो)मा गरिएको थियो । ब्रह्मानन्दमले पहिलोपटक नेपाली फिल्ममा काम गरेकाले ‘ह्रस्व दीर्घ’प्रति दर्शकको चासो बढेको छ ।

द्वन्द्व निर्देशनमा स्थापित चन्द्र पन्तको डेब्यु निर्देशन रहेको फिल्ममा साउथबाट ब्रह्मानन्दमसँगै अली, ‘गजनी’ भिलेन प्रदीप रावत, कबीर दुहान सिंहलगायतको पनि अभिनय छ । नेपालबाट नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, सञ्चिता लुईँटेल, प्रशान्त ताम्राकार, किरण केसी, बुद्धि तामाङ, गरिमा शर्मा लगायतले अभिनय गरेका छन् । फिल्मको कथा हरिहर आफैंले लेखेका हुन् ।

भारत र नेपालमा गरी दुई चरणमा छायांकन भएको फिल्मलाई भारतका छायाँकार कवीरलालले खिचेका हुन् । उनले ‘दिल आपके पास है’, ‘वेलकम ब्याक’, ‘परदेश’ जस्ता सफल बलिउड फिल्मको छायांकन गरिसकेका छन् । नीता र हरिहर ‘ह्रस्व दीर्घ’लाई नेपालीसहित भारतका विभिन्न भाषामा स्वरांकन गरेर प्रदर्शन गर्ने योजनामा छन् । फिल्मको बजेट मात्र ६ करोडमाथि पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!