धनुषामा मृत भेटिएका राधेकी श्रीमती अस्मिताको पनि मृत्यु

Posted on: 16 Jan, 2024

माघ २, जनकपुरधाम | धनुषामा सोमबार मृत भेटिएका २२ वर्षीय राधे सहनीकी श्रीमती अस्मिता शर्माको पनि मृत्यु भएको छ ।

घाइते अवस्थामा फेला परेकी २० वर्षीया अस्मिता शर्माको प्रादेशिक अस्पतालमा उपचारका क्रममा सोमबार राति ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । राधे सोमबार बिहान धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पकडियास्थित सडक छेउमा मृत फेला परेका थिए । केही दिनअगाडि मात्रै राधे र अस्मिताले प्रेम विवाह गरी क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए । 

केही साथीसँगै ससुराली घर पकडियाबाट महेन्द्रनगर डेरामा रमाइलो गर्नुपर्छ भनेर श्रीमतीसहित राधे निस्केका थिए । ज ५ प ७८०० नम्बरको मोटरसाइकलमा श्रीमती अस्मितलाई लिएर हिँडेका राधे बिहानी ससुराली घरबाट करिब डेढ किलोमिटरको दूरीमा मृत भेटिएका थिए ।

मोटरसाइकल दुर्घटना भएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । घाइते भएकी अस्मितलाई भने अर्को मोटरसाइकलमा रहेका तीनजना साथीले माइतीमा पुर्‍याइदिएका थिए ।

माइती पक्षले अस्मितालाई उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गरेका थिए । ‘माइतमा अस्मितालाई घाइते अवस्थामा छाडेर साथीहरु भागे । श्रीमान् राधेले नै अस्मितालाई कुटपिट गरेर भागेको अनुमानसहित घरपरिवारले हामीलाई खबर गरेपछि रातभर हामीले खोजबिन गर्यौं । बिहान त राधे नै गहुँ खेतमा मृत भेटियो,’ प्रहरीले भने ।

दुर्घटनामा परेको मोटरसाइकल लिएर सँगै पुगेका युवाहरु अस्मितालाई माइत पुर्‍याएर भागेको पाइएको छ ।

प्रहरीले भागेका तीनैजना युवालाई सोमबार दिउँसो नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!