धनुषामा मृत भेटिए श्रीमान्, श्रीमती घाइते अवस्थामा

Posted on: 15 Jan, 2024

माघ १, जनकपुरधाम | धनुषामा एक जना पुरुष मृत भेटिका छन् भने उनकी श्रीमती घाइते अवस्थामा फेला परेकी छन् ।

महोत्तरीको लोहारपट्टी नगरपालिका-३ महदैयाका राधे सहनी मृत फेला परेका हुन् । उनकी श्रीमती अस्मिता सहनी घाइते अवस्थामा रहेको धनुषा प्रहरी प्रवक्ता डीएसपी रञ्जनवाले जानकारी दिए ।

डीएसपी रञ्जनवाका अनुसार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पकडियास्थित सडक छेउमा आज बिहान राधे मृत फेला परेका हुन् । श्रीमतीको भने प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

 केही दिनअगाडि मात्रै राधे र अस्मिताले प्रेम विवाह गरी क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए । राधेको ससुराली घर क्षिरेश्वरनाथ नगरपालिका पकडिया हो ।

केही साथीसँगै ससुराली घर पकडियाबाट महेन्द्रनगर डेरामा रमाइलो गर्नुपर्छ भनेर श्रीमतीसहित राधे निस्केका थिए । 

डीएसपी अवाका अनुसार घटनास्थलमा मोटरसाइकलका टुक्रा भेटिएको छ । प्रहरीले दुर्घटनाको आशंका गरेपनि त्यहाँ कुनै गाडी फेला नपरेको बताइएको छ । राधेको ढाडमा चोट छ ।

राधेसँगै गएका दुई जना साथीहरू भने फरार भएका छन् र उनीहरूको खोजी भइरहेको प्रहरीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!