सर्लाही जिल्ला अदालतमा बम्जनको बयान सुरु, आजै दिउँसो थुनछेक बहस

Posted on: 11 Jan, 2024

पुस २६, काठमाडौँ | मंगलबार राति काठमाडौंमा पक्राउ गरिएका रामबहादुर बम्जनको जिल्ला अदालत सर्लाहीमा बयान सुरु भएको छ । बुधबार राति स्थलमार्गबाट सर्लाही ल्याइएका बम्जनलाई अदालतमा उपस्थित गराउनुअघि प्रहरीले सरकारी वकिलको कार्यालयमा बयान गराएको थियो । 

अहिले जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासमा बयान चलिरहेको छ । आजै दिउँसो थुनछेक बहस हुने जिल्ला अदालत सर्लाहीले जनाएको छ । बहसपछि उनलाई कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउनेछ । 

मंगलबार साँझ काठमाडौँको बुढानीलकण्ठ नगरपालिका- ६ स्थित निवासबाट सिआइबीको टोलीले बम्जनलाई पक्राउ गरेको थियो ।  बम्जनविरुद्ध जिल्ला अदालत सर्लाहीमा नाबालिकामाथि जबर्जस्ती करणी तथा बाल यौनशोषणको मुद्दा दर्ता रहेको छ । उक्त मुद्दामा जिल्ला अदालत सर्लाहीले २१ असार ०७७ मा बम्जनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । 

२० साउन ०७३ को राति ९ बजेर २० मिनेटको समयमा आश्रमस्थलमै आनी बनेर बसेकी एक बालिकालाई विभिन्न किसिमको प्रलोभन देखाई सुत्ने कोठामा जबर्जस्ती करणी गरी यौन सन्तुष्टि लिएको र पीडितलाई डर, धाक, धम्की देखाइएको दायर गरिएको मुद्दामा उल्लेख छ ।  बाराको निजगढ नगरपालिका– १२ घर भएका रामबहादुर बम्जन भनिने रामलाल बम्जनविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीले १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरी मिसिल सरकारी वकिलको कार्यालयमा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!