आजदेखि कञ्चनपुरमा जलपन्छी गणना सुरु

Posted on: 06 Jan, 2024

पुस २१, कञ्चनपुर | कञ्चनपुरमा आजदेखि जलपन्छी गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय नि

कुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छी संरक्षण सङ्घ, हिमालयन नेचरगाइड, शुक्लाफाँटा नेचर गाइड एसोसिएसनलगायत सङ्घसंस्थाले जलपन्छी गणना थालेका हुन् ।

जलपन्छी गणना आजदेखि माघ ७ गतेसम्म जारी रहने नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताए । उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रमा सिमसार क्षेत्र, ताल तलैया, नदीलगायत र निकुञ्ज बाहिरका जलाधार क्षेत्रमा जलपन्छी गणना हुनेछ ।

निकुञ्ज बाहिरका क्षेत्रमा डिभिजन वन कार्यालयसँग समन्वय गरी जलपन्छी गणना हुने चराविज्ञ डगौराले बताए । जलपन्छी गणनामा ‘वाइनाकुलर टेलिस्कोप’ र ‘जिपिएस’सहितको क्यामेराको प्रयोग गरिने छ ।

सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराको विवरण तथा अवस्था पत्ता लगाउन, सङ्ख्याको अद्यावधिक गर्न हरेक वर्षको यसै दिनदेखि जलपन्छी गणना हुँदै आएको छ । गणनाका क्रममा तालतलैयामा जलपन्छीको सङ्ख्या यकिन गर्ने कार्यसँगै सीमसारको अवस्थाबारे अध्ययन हुनेछ । कञ्चनपुरसँगै कैलाली र बर्दियाका सीमसार क्षेत्र तथा तालतलैया, नदी तथा जलाधार क्षेत्रमा जलपन्छी गणनको कार्य हुने डगौराले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!