पन्ध्र बिघा क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट

Posted on: 09 Dec, 2023

मङ्सिर २३, मलङ्गवा | सर्लाही प्रहरीले लालबन्दी नगरपालिका –१४, नारायण खोलास्थित १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ । 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला नेतृत्वको सुरक्षाकर्मीको टोलीले गाँजा खेती नष्ट गरेको हो । नारायण खोला र आसपासका क्षेत्रको विशाल भूभागमा गाँजाखेती गरिएको सूचनाका आधारमा परिचालन भएको  सुरक्षाकर्मीको टोलीले १५ बिघा क्षेत्रफलमा लगाएको गाँजा नष्ट गरेको सर्लाहीका प्रहरी प्रमुख प्रवीण धितालले जानकारी दिए । 

गाँजा नष्ट गर्न जिल्ला प्रहरी कार्यालय मलङ्गवा, नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवर, सशस्त्र प्रहरी सुरक्षा बल लालबन्दी र इलाका प्रहरी कार्यालय लालबन्दीबाट एक सय ५० जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए ।  

प्रहरीले प्रत्येक वर्ष सर्लाहीको चुरे क्षेत्रमा गाँजा फडानी गर्दै आएको छ तर स्थानीयले गाँजाखेती गर्न छाडेका छैनन् । सडक नपुगेको र खोलाको बगर भएर जानुपर्ने जिल्लाकै सबैभन्दा दुर्गम भेगमा पर्ने चुरेक्षेत्रस्थित नारायण खोलाका स्थानीयले केही वर्षदेखि अन्य बाली लगाउन छाडेर गाँजाखेती गर्दै आएका छन् । 

सर्लाहीको बागमती, हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रको डाँडाकाँडामा गाँजाखेती रोकिएको छैन  । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!