मुगु सामूहिक हत्याकाण्ड: पक्राउ परेका दुई आरोपि सार्वजनिक

Posted on: 10 Nov, 2023

कार्तिक २४, काठमाडौँ | मुगुको छायाँनाथरारा नगरपालिका–६ मन्दुगाउँको हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पकाउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका-७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका-१ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराज शाही र छायानाथ रारा-६ मन्दु बस्ने ३१ वर्षीय गोपालबहादुर बोहरा रहेका छन् । उनीहरूलाई शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले सार्वजनिक गरेको हो ।

शाहीलाई कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगरबाट र बोहरालाई उनकै घर मन्दुबाट शुक्रबारै नियन्त्रणमा लिएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भिम ढकालले बताए । प्रहरीका अनुसार बोहराले हत्याको योजना बनाएका थिए ।


मृतकका श्रीमान् दीपक बोहरालाई राम्रो कमाइ गर्ने कतारस्थित कम्पनीमा आफूलाई भिसा पठाइदिन गोपालले आग्रह गरेका थिए । दीपकले सोही कुरा अस्वीकार गरेको रिसिईबीका कारण उनको परिवारको हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । हत्याको मुख्य योजनाकार गोपालले गोर्खराजलाई भेटी मृतकसँग १०/१२ तोला सुन र नगद भएकोले लुटपाट गर्ने सल्लाह गरेका थिए ।

कात्तिक ५ गते सुर्खेतबाट हिँडेका गोर्खराज मुगु पुगेका थिए । कात्तिक ७ गते हत्यामा आरोपित दुई जना स्थानीय एक सामुदायिक विद्यालयमा लुकीछिपि बसेका थिए । ८ गते राति ९ बजे उनीहरू मृतकको घर पुगी ढोका खोल्न लगाएर हत्या गरेका थिए । उनीहरूले खुकुरीले टाउको र घाँटीमा प्रहार गरेर श्रीदेवी बोहरासहित ४ जनाको हत्या गरेका थिए । मारिसकेपछि उनीहरूले मृतकसँग भएको १ थान मोबाइल, कानमा लगाएको रिङ, घाँटीको तिलहरी लुटपाट गरेका थिए 

घटनापछि कात्तिक ९ गते गोर्खराज शाही मुगु र जुम्लाको सिमानासम्म पैदल हिँडेर सुर्खेततर्फ बसमा भागेका प्रहरीको अनुसन्धानको क्रममा खुलेको डीआईजी ढकालले बताए ।

घटना अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय मुगु, कर्णाली प्रदेश केनाईन शाखा खटिएका थिए । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी ढकाल पनि घटनास्थल मुगुमै खटिएका थिए ।

यही कात्तिक ८ गते घरमै २६ वर्षीया श्रीदेवी बोहरा र उनका ११ वर्षीय छोरा मनोज‚ ६ महिनाका छोरा रहर र ७ वर्षीया छोरी अप्सराको शव भेटिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!