आफूलाई थप्पड हान्ने क्याप्टेनलाई कारबाहीको माग गर्दै वरिष्ठ क्याप्टेन शाह पुगे प्रहरीमा

Posted on: 03 Nov, 2023

कार्तिक १७, काठमाडौं | रामेछाप विमानस्थलमा आफूमाथि हातपात भएको घटनालाई लिएर तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष शाह प्रहरीकहाँ पुगेका छन् ।

क्याप्टेन शाहले आफू बिहान ८ः३० बजे लुक्लाबाट रामेछापको मन्थली विमानस्थलमा आएको विमानबाट ओर्लिएको र क्याप्टेन सञ्जीव श्रेष्ठ लुक्ला उडानका लागि विमानस्थलमा रहेको जहाजतर्फ जाँदै हात मिलाउने क्रममा श्रेष्ठले थप्पड हानेको बताए ।

वरिष्ठ क्याप्टेन शाहले आफूमाथि हातपात गर्ने श्रेष्ठमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक (डीएसपी) होमबहादुर पराजुलीले जानकारी दिए ।

“आफूमाथि कुटपिट भएको भन्दै निवेदन दर्ता गर्न आउनुभएको थियो, क्याप्टेन श्रेष्ठलाई फोन गरेर सोध्दा उहाँले म लुक्ला छु हाम्रो सामान्य विवाद भएको हो म त्यहीँ आएर छलफल गरौँला भन्नुभएको थियो,” डीएसपी पराजुलीले भने ।

दुई पाइलटबीच के कारणले विवाद भएको हो भन्ने विषयमा आफूलाई जानकारी नभएको नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख अशोक थापाले बताए । उनका अनुसार घटनापछि क्याप्टेन शाह भएको विमान मन्थली विमानस्थलमा ग्राउन्डेड गरिएको छ भने लुक्ला पुगेका श्रेष्ठलाई पनि लुक्ला विमानस्थलमै ग्राउन्डेड गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!