जारको पानी खाएर बिरामी परेको भन्दै उजुरी

Posted on: 31 Oct, 2023

कार्तिक १४, जनकपुरधाम | जनकपुरधाम उपमहानगरपालिका-९ मा जारको पानी खाएपछि बिरामी परेको भन्दै एक युवकले कारबाहीको माग गरेका छन् ।

जनकनन्दनी गाउँपालिका-९ इनर्वा घर भई जनकपुरमा बस्दै आएका विद्यार्थी इन्द्रजीत गोइतले आफू ३ दिनदेखि बिरामी परेको बताए । रेल्वे स्टेशननजिकै एक किराना पसलबाट किनेको पानीमा मटीतेल मिसिएको उनको भनाइ छ ।

‘आइतबार राति जार किनेर डेरा लगेर पानी खाएर सुत्न लाग्दा अचानक टाउको र पेट दुख्न थाल्यो । सहन नसकेपछि रातिमै औषधि पसलमा गए । त्यहाँ समस्या भनेपछि दिएको औषधी खाए । त्यसपछि हल्का आराम भयो । बिहान जार चेक गर्दा मटीतेलजस्तो गन्ध आयो । जार समेत फोहोर रहेछ’, उनले भने ।


किराना पसल पुगेपछि ‘प्रिया जल कम्पनी’ को पानी रहेको थाहा भएको गोइतले सुनाए । स्रोतका अनुसार उक्त कम्पनी कुनै सरकारी निकायमा दर्ता छैन ।

इन्द्रजीतले जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी दिएका छन् । छानबिन तथा कारबाहीका प्रशासनले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलाई पत्र काटेको छ । पानी किन्दा अस्वाभाविक गन्ध आएको भन्दै उनले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसमक्ष छानबिन गरी कारबाही गर्न आग्रह गरेका छन् । कम्पनीले जारमा पानी प्याकिङ गर्दा नै लापरबाही गरेको देखिएकाले कारबाही हुनुपर्ने उनको माग छ ।

कम्पनीका मालिकसँग फोनमा कुरा गर्दा नाम बताउन चाहेनन् । उनले मटीतेल बेच्ने पसलबाट जार किनेकाले मिसिएको हुनसक्ने जवाफ दिए ।

उनले भने, ‘पानी खाएरै बिरामी परेको भन्दै एकजनाले प्रशासनले उजुरी दिएको मैले पनि जानकारी पाएँ । उहाँसँग कुरा भयो । उजुरी फिर्ता लिनुहुन्छ ।’

गोइतले भने आफूलाई मालिकहरू भेट्न आएर उजुरी फिर्ता लिन भनेपनि कारबाहीको अडान कायमै रहेको बताएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!