विराटनगरमा १३ वर्षीयाले जन्माइन् बच्चा, दुवै सामान्य

Posted on: 01 Sep, 2023

भदौ १५, काठमाडौं । मोरङमा १३ वर्षीया बालिकाले बच्चा जन्माएकी छन् । विराटनगरको एक अस्पतालमा बालिकाको नर्मल डेलिभरी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बालिकाले बुधबार बिहान २.७ किलोग्रामको छोरा जन्माएको प्रहरीले जनाएको छ ।


१६ वर्षीय किशोरसँगको सहमतिमै भएको शारीरिक सम्पर्कबाट गर्भवती बनेकी बालिकाले छोरालाई जन्म दिएको र बच्चा तथा आमा दुबैको स्वास्थ्य सामान्य रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले बताए ।

उनका अनुसार बालिकालाई अस्पतालले डिस्चार्ज दिइसकेको छ । बालिका र शिशुलाई संरक्षण गृहमा राखिएको प्रहरीले जनाएको छ ।

बालिकाले पेट दुःखेको बताएपछि अभिभावकले चेकजाँचका लागि मंगलबार अस्पताल भर्ना गरेका थिए । अस्पतालमा परीक्षण गराउँदा गर्भ रहेको पत्ता लागेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट गत पुसमा बालिकाको शारीरिक सम्पर्क भएको खुलेको छ ।

बालिकालाई गर्भवती बनाउने किशोरलाई नियन्त्रणमा लिएर ‘बाल निगरानी कक्ष’मा राखी घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

बालिका र किशोर दुबैको पहिचान गोप्य राखेर प्रहरीले डीएनए परीक्षणको तयारी पनि गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!