बलात्कार आरोपित इञ्जिनियर पोखरेल ४ वर्षअघि ९ लाख घुससहित पक्राउ परेका थिए

Posted on: 28 Jul, 2023

साउन १२, पोखरा | बलात्कार आरोपमा पक्राउ परेका मध्य पहाडी लोकमार्ग आयोजनाका निर्देशक इञ्जिनियर हरिकुमार पोखरेल यसअघि ९ लाख घुससहित पक्राउ परेको पाइएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराको टोलीले सडक डिभिजन कार्यालय पोखरामा प्रमुख रहेका बेला पोखरेललाई ४ वर्षअघि नौ लाख घुससहित पक्राउ गरेको थियो ।


उनीसँगै इञ्जिनियर पवित्रमणि आचार्य, ठेकेदार ऋषि गौतम र पोखरेलका २ जना भान्छेलाई २०७६ साउन २३ गते अख्तियारको टोलीले पक्राउ गरेको थियो । सडक डिभिजन कार्यालय पोखराअन्तर्गत सडक निर्माणको ठेक्का मिलाइदिन भनी जीएमआर निर्माण सेवाका ठेकेदार ऋषि गौतमले पोखरेलको निवासमा पुगेर नौ लाख रुपैयाँ घुस दिएका थिए । घुसको सेटिङ मिलाउने काम सडक डिभिजनकै इञ्जिनियर पवित्रमणि आचार्यले गरेका थिए । दुई जना भान्छेलाई पैसा ओसारपोसारमा संलग्न भएको भन्दै नियन्त्रणमा लिइएको थियो ।

अख्तियारले इञ्जिनियर पोखरेलसहितलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम सजाय गरी बरामद भएको सात लाख सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुन समेत मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा २०७६ भदौ १३ मा मुद्दा दायर गरेको थियो । २०७८ चैतपछि उनले विशेष अदालतबाट सफाइ पाएका थिए ।

एक युवतीले बलात्कारको आरोप लगाएपछि अनुसन्धानका लागि ५२ वर्षीय पोखरेललाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । ब्लु क्रस अस्पतालमा उपचारका लागि आएका पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार उनकै घरमा काम गर्न राखिएकी युवतीले पोखरेलविरुद्ध उजुरी गरेकी हुन् । ती युवतीले केही समयअघि सामाजिक सञ्जालमा आफूलाई पोखरेलले बलात्कार गरेको भन्दै भिडियोसमेत राखेकी थिइन् । घरमा कोही नभएको मौकामा आफूमाथि पटक पटक यौन दुर्व्यवहार गरेको उनले बताएकी थिइन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!