पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध

Posted on: 23 Jul, 2023

साउन ७, पोखरा | पोखरा बसपार्क क्षेत्रका सडक छेउमा आजदेखि पार्किङ निषेध गरिएको छ ।

पोखरा महानगरपालिकाले पृथ्वीचोकेदेखि सेती पुल (चाइनापुल) सम्म सडक छेउमा पार्किङ गर्न निषेध गरेको जानकारी दिएको हो ।

यातायात व्यवस्थापन समितिका उपाध्यक्षसमेत रहेका पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले पृथ्वीचोकको सडक छेउको पार्किङ हटाउने निर्णयअनुसार आजदेखि पार्किङमा प्रतिबन्ध लगाइएको हो । 

बसपार्क क्षेत्रमा सडक पार्किङ बन्द गर्न आज बिहानैदेखि महानगर प्रतिनिधि, ट्राफिक प्रहरी लगायत खटिएका छन् ।

बसपार्क राजमार्गसँगै जोडिएकाले सडक छेउमै साना, ठूला सवारी साधन पार्किङ गर्दा समस्या भएको महानगरको भनाइ छ । 

पोखरा बसपार्क बनाउन २०३२ सालमा पोखरा नगर उपत्यका विकास समितिले २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । यही बसपार्कको जग्गाकै बीच भागमा पृथ्वी राजमार्ग पर्ने भएकाले बसपार्कका लागि १८७ रोपनी छुट्याइएको थियो । तर, अधिग्रहण गरिएको लामो समयसम्म काम नहुँदा अहिले अतिक्रमण हुँदै बसपार्ककको जग्गा ४० रोपनीमा खुम्चिएको छ । बसपार्कको जग्गामा अनधिकृत बसोबास बढ्दा अधिकांश सवारी साधन बसपार्क बाहिर पृथ्वीराजमार्गकै किनारामा पार्किङ गर्ने गरिएको छ ।

पोखरा–१६ का वडाध्यक्ष तिमिल्सिनाका अनुसार बसपार्क भित्र कम्तिमा १ सय ५० सवारी साधान पार्किङ गर्न सकिने गरी ब्यवस्था मिलाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!