हृदयाघातबाट एकीकृत समाजवादीका नेता पाण्डेको निधन

Posted on: 08 Jul, 2023

असार २३, बुटवल | नेकपा (एकीकृत समाजवादी) पाल्पाका जिल्ला अध्यक्ष ५२ वर्षीय खिमानन्द पाण्डे (कमल)को  निधन भएको छ । बगनासकाली गाउँपालिका–१, चिर्तुङधारा पिप्लेमा बस्दै आएका पाण्डेलाई हृदयघात भएपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ अस्पताल प्रभास लैजाने क्रममा बाटोमै मृत्यु भएको  एकीकृत समाजवादी निकट समाजवादी प्रेस सङ्गठनका जिल्ला अध्यक्ष पदम गैरेले जानकारी दिए । 

खेतमा काम गरिरहेका वेला उनलाई हृदयाघात भएको थियो।

पाण्डेयको दुई छोरा र श्रीमती छन् । सरल र मृदुभाषी पाण्डेय एकीकृत समाजवादी गठन हुनु पूर्व एमाले उपसचिव थिए ।

उनी गत वर्ष सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा बगनासकाली गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार बनेका थिए । आज काली गण्डकी नदीको राम्दीघाटमा पाण्डेयको अन्त्येष्टि गरिँदै छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!