चितवनमा तीन स्थानमा मतगणना गरिने

Posted on: 20 Nov, 2022

मङ्सिर ४, भरतपुर | चितवनमा तीन स्थानबाट मतगणना गरिने भएको छ । तीन निर्वाचन क्षेत्रमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाको तयारी गरिएको हो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको भरतपुरमा निर्वाचन क्षेत्र नं २ को गणनाका लागि चितवन उद्योग सङ्घको हलमा गणनास्थल तयार गरिएको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले मतगणनास्थलमा १० सिसीटिभी, मनिटर र फलामे बारसहितको जाली लगाइएको बताउनुभयो । यहाँ चार ठाउँबाट गणनाको काम थालिने उहाँले जानकारी दिनुभयो । दुई ठाउँबाट प्रतिनिधिसभा र दुई ठाउँमा प्रदेश क्षेत्र (१) र (२) को प्रत्यक्षको मतगणना गर्ने थापाले बताउनुभयो । अन्य निर्वाचन क्षेत्रमा पनि सोहीअनुसारको गणनाको योजना बनाइएको उहाँको भनाइ छ । 

मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो । यहाँ विसं २०७४ को स्थानीय तहको निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि देशैभरि मतगणनास्थलमा तारजाली लगाउन थालिएको छ । 

चितवन क्षेत्र नं १ को खैहरनी माविमा मतगणना गर्ने तयारी गरिएको छ । त्यहाँ चार ठाउँमा मतगणनाका लागि तयारी गरिएको छ । यस्तै चितवन क्षेत्र नं ३ को कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा मतगणनाको तयारी गरिएको छ । यहाँ दुई ठाउँमा मतगणना गर्ने गरी संरचना निर्माण गरिएको छ । मुख्य निर्वाचन अधिकृत थापाले तीन दिनभित्र प्रत्यक्षतर्फको गणनाको काम सक्ने लक्ष्य राखिएको बताउनुभयो ।

नमूना मतदानस्थल : 

चितवनको भरतपुर माविको मतदानस्थललाई नमूना मतदानस्थल बनाइएको छ । यस मतदानस्थलमा कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला मात्रै राखिएको छ । 

क्षेत्र नम्बर २ अन्तर्गत पर्ने यस मतदानस्थलमा चार वटा मतदान केन्द्र तोकिएको छ । यसमा कूल ३२ महिला कर्मचारी छन् । यस मतदानस्थलमा सुरक्षाका लागि पनि सबै २३ महिला सुरक्षाकर्मी खटाइएको छ । चारवटा केन्द्रमा गरेर कूल तीन हजार दुई सय २९ मतदाता रहेको मतदान अधिकृत विष्णुमाया विकेले जानकारी दिनुभयो । मतदान केन्द्रको तयारीदेखि मतदान सम्पन्न गर्नेसम्म सबै काम कुशलतापूर्वक पूरा गर्ने उहाँले बताउनुभयो ।

जिल्लामा कूल एक सय ६२ मतदानस्थल रहेका छन् । त्यसभित्र चार सय ६० मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । उहाँले सबै मतदानस्थल निर्माणको काम सम्पन्न भएको जानकारी दिनुभयो । जिल्लामा कूल मतदाता चार लाख आठ हजार तीन सय ४२ छन् । जसमा पुरुषभन्दा महिला मतदाता धेरै रहेका छन् । यस मतदान केन्द्रको शनिबार सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले समेत निरीक्षण गर्नुभएको छ । सो क्रममा उहाँले राम्रोसँग काम गर्न आग्रह गर्दै महिला कर्मचारीलाई हौसला बढाउनुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!