कांग्रेस नेता गिरि आईसीयूमा

Posted on: 20 Aug, 2022

भदौ ४, काठमाडौं | नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ। साउन दोस्रो साता ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि आईसीयूमा सारेर उपचार जारी राखिएको युवा नेता रत्न कार्कीले बताए।


गिरिको स्वास्थ्यमा थप समस्या भएकाले शुक्रबार दिउँसोदेखि कसैलाई भेट्न नदिइएको कार्कीको भनाइ छ। गिरिलाई स्वास्थ्यमा समस्या देखिएपछि गत वर्ष साउनमा उपचारका लागि भारतको मुम्बई लगिएको थियो। करिब एक वर्ष उपचार गरेपछि उनलाई साउनमा नेपाल ल्याइएको थियो। घाँटीमा क्यान्सर भएका उनलाई निमोनियाले पनि च्यापेपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।

कार्कीका अनुसार अस्पतालका डा.पंकज वर्मनसहितको चिकित्सक टोलीले गिरिको उपचार गरिरहेको छ। घाँटीमा देखिएको क्यान्सर पछिल्लो समय शरीरका अन्य भागमा पनि फैलिँदै जाँदा र निमोनियासमेत हुँदा गिरिलाई थप समस्या भएको चिकित्सकले बताउँदै आएका थिए। शुक्रबार साँझ उपचारमा सलंग्न एक चिकित्सकले भने, ‘म भर्खर उहाँलाई (प्रदीप गिरि)लाई आईसीयूमा हेरेर फर्केको छु। सामाजिक सञ्जालमा हतारमा लेखेका कुराले दुःखित छु। उहाँ उपचाररत अवस्थामा हुनुहुन्छ।’

कार्कीले भने, ‘निमोनिया निको भएन। क्यान्सर शरीरको अन्य भागमा पनि फैलियो। चिकित्सकले सक्दो प्रयास गरिरहेका छन्।’  

यस बिषयमा तपाइको प्रतिक्रिया...!