‘चुनावी घरदैलोमा जानु छ’ भन्दै देउवालाई नभेटी निस्किए जगन्नाथ

Posted on: 05 May, 2022

वैशाख २२, काठमाडौं | प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदका लागि बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई मनाउन लागिपरेका छन् ।

पौडेलको उम्मेदवारी फिर्ता गरेर गठबन्धनबाट प्रमुख पदकी उम्मेदवार बनेकी रेणु दाहालको पक्षमा चुनावी माहौल बनाउन देउवा सक्रिय बनेका छन् । तर पौडेलले देउवालाई भेट्नसमेत मानेका छैनन् ।

कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले पौडेलसँग भने, ‘सभापतिज्यूले उहाँ (पौडेल)लाई भेट्ने भन्ने कुरा चाहिँ सुनेको थिएँ । तर, भेट भयो कि भएन जानकारी छैन।

पौडेललाई प्रधानमन्त्री देउवाले बिहीबार बिहान भेट्न खोजेका थिए। पौडेलले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मात्रै भेटेर फर्किए।भरतपुरको होटल सिराँगचुलीमा वरिष्ठ नेता पौडेलसँग भएको भेटवार्तापछि पौडेलले भने, ‘वरिष्ठ नेता पौडेलसँग भेट भयो, प्रधानमन्त्रीसँग भेट भएन, हामी हाम्रो चुनावी घरदैलो कार्यक्रम छ भनेर फर्कियौँ।’

पौडेललाई १६ वैशाखमा उम्मेदवारी फिर्ता गराउन यसअघि गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठलाई देउवाले पौडेलकै घरमा पठाएका थिए । उनीहरूले आग्रह पनि गरे तर पौडेल टसमस भएनन् ।यसपछि भने नेता शंकर भण्डारीलाई पनि पौडेललाई भेट्न पठाए । उम्मेदवारी फिर्तादेखि निष्क्रिय रहन अस्वीकार गर्दै आएपछि देउवा नै भरतपुर पुगेका हुन् ।

पौडेल १६ वैशाखकै पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाहीमा परिसकेका छन् । उनी स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचन चिह्न ‘भूइँकटहर’ लिएर घरदैलो अभियानमा छन् ।कांग्रेसबाट उनी यसअघि राष्ट्रियसभा सदस्य भइसकेका छन् । उनी गठबन्धनप्रति असन्तुष्ट हुँदै स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!