नेकपाका महासचिव विप्लव धनगढीमा, ३० गते नेपाल बन्द घोषणा

Posted on: 11 Nov, 2021

मोहन जोशी | कात्तिक २५, धनगढी | नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) धनगढी पुगेका छन् । विप्लव निकट नेकपाले भोलि धनगढीमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न उनी आएका हुन् । 

यसैगरी पिप्लवले पार्टीको भातृ संगठन दलित मुक्ति मोर्चा नेपालको कात्तिक २७ गतेदेखि धनगढीमा हुने राष्ट्रिय सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको विप्लवका सुदूरपश्चिम प्रदेश इन्चार्ज ओमप्रकाश पुनले बताए । राष्ट्रिय सम्मेलन उद्घाटन गरेर विप्लवले कञ्चनपुरस्थित भारतले अतिक्रमण गरेको भूभागको निरीक्षण गर्ने कार्यक्रम रहेको इन्चार्ज पुनले बताए । 

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि त्यसको विरोधमा विप्लवले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । विप्लवले सो आन्दोलन पनि सुदूरपश्चिमबाटै गर्ने छन् ।


नेकपा विप्लवले प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको संघर्षको कार्यक्रम घोषणा गरेको छ । जसअनुसार कात्तिक २५ गते दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन, कात्तिक २६ गते प्रचार/प्रसार र साँझ मशाल जुलुस, कात्तिक २७ गते दिउँसो १ बजेदेखि २ बजेसम्म एक घण्टा देशव्यापी प्रदर्शन, कात्तिक २८ गते बिहान १० देखि ११ बजेसम्म एक घण्टा चक्का जाम, कात्तिक २९ गते दिउँसो सिट्ठी जुलुस, साँझ मशाल जुलुस र कात्तिक ३० गते नेपाल बन्दसम्मका कार्यक्रमहरू घोषणा गरेको हो ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरे आन्दोलनका थप कार्यक्रम घोषणा गरिने सुदूरपश्चिम प्रदेश इन्चार्ज पुनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!