आठराई गाउँपालिकामा कांग्रेस–माओवादी गठबन्धन

Posted on: 16 Jun, 2017

असार २, तेह्रथुम | तेह्रथुमको आठराई गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा उम्मेद्वारी दिने भएका छन् । गाउँपालिका तथा वडाहरुमा नेपाली कांग्रेस, नेकपा माओवादी र संघीय लिम्बुवान मन्चले गठबन्धन गर्दै संयुक्त रुपमा उम्मेद्वारी दिने भएका हुन् । 

गाउँपालिकाको लागि कांग्रेस–माओवादी गठबन्धनबाट अध्यक्ष पदमा नेपाली कांग्रेसका नारायणकुमार ईङनामलाई उम्मेद्वार बनाएका छन् । गठबन्धनले उपाध्यक्ष पदमा भने नेकपा माओवादी केन्द्रकी रमिला खनाललाई उम्मेद्वार बनाएको छ । 

साविक ईवा गाविस घर भएका कांग्रेस नेता ईङनाम पुर्व जिल्ला कार्यसमिति सदस्य हुनुहुन्छ । ईङनाम ०५४ सालको निर्वाचनमा ईवा गाविस अध्यक्षमा पराजित हुनुभएको थियो । त्यतिवेला उनी मावि शिक्षकको जागिर छाडेर राजनीतिमा आउनुभएको हो ।

खनाल माओवादी केन्द्रकी जिल्ला कमिटी सदस्य हुनुहुन्छ । उहाँ ०६० सालदेखि माओवादीमा क्रियाशील हुनुहुन्छ । आठराई गाउँपालिकामा दुई पार्टी गठबन्धन पछि आफुहरुको जित सुनिश्चित भएको गठबन्धनको दावी छ । गाउँपालिकाका विभिन्न वडाहरुमा समेत कांग्रेस, माओवादी केन्द्र र संघीय लिम्बुवान मन्चले गठबन्धन गरेका छन् । 

आठराई गाउँपालिका वडा नं. ४, ६ र ७ मा माओवादी केन्द्रलाई वडाध्यक्ष दिएर कांग्रेस र लिम्बुवानले सघाउने भएका छन् । वडा नं. २ मा माओवादी केन्द्रले वडाध्यक्षमा कांग्रेसलाई सघाउने भएको छ । बाँकी रहेका वडा नं. १, ३ र ५ मा भने एक्ला एक्लै उम्मेद्वार तय गरिएको नेताहरुले बताएका छन् । 

संघीय लिम्बुवान मन्चले भने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः मृगेन्द्र ईङनाम र चुङवान्मा कन्दङवालाई उम्मेद्वार बनाएको छ । यसअघि आठराई गाउँपालिकामा एमालेले अध्यक्षमा मानबहादुर कन्दङवा र उपाध्यक्षमा रुपा कन्दङवाको एकल उम्मेद्वारी घोषणा गरिसकेको छ । अधिकांश वडामा एकल वर्चस्व रहेको दाबी गर्ने एमालेले यो पटक पनि आफुले जित निकाल्ने दाबी गरेको छ । 

यसअघिका निर्वाचनमा पनि एमालेले आठराई गाउँपालिकामा गाभिएका सात वटै गाविसमा जितेको थियो । तर त्यतिवेला आठराईमा कांग्रेस बलियो थिएनँ । त्यतिवेला राष्ट्रिय प्रजातन्त्र पार्टी आठराईमा बलियो थियो । अहिले राप्रपाबाट धेरैले छाडेर कांग्रेस प्रवेश गरिसकेको र राजनीति परिवेशले कोल्टे समेत फेरिसकेकाले आफुहरु जित्ने कांग्रेस–माओवादी गठबन्धनको दाबी छ । 

स्थानीय चुनावमा आठराई गाउँपालिका एमाले अध्यक्ष केपी ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, कांग्रेस नेतृ सीता गुरुङको जन्मथलो समेत भएकाले निकै चासो र चर्चामा छ । चुनावमा कांग्रेस–माओवादी गठबन्धनलाई विजयी गराउन कांग्रेस नेतृ गुरुङ यतिवेला गाउँमै हुनुहुन्छ । एमालेका प्रदेश नं. १ सदस्य तेजमान कन्दङवा, रामचन्द्र थपलिया लगायत नेता पनि आठराईमै जमेर चुनावी अभियानमा जुट्नुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!