प्युठानमा माओवादी केन्द्र र जनमोर्चावीच चुनावी तालमेल

Posted on: 14 Jun, 2017

सागर शर्मा/जेठ ३१, प्युठान । प्युठानमा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा मिलेर चुनावी मैदानमा उत्रिने भएका छन् । 

प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका र गौमुखी गाउँपालिकामा माओवादी र जनमोर्चावीच तालमेल भएको हो । सहमतिअनुसार प्युठान नगरपालिको मेयरमा माओवादीले र उपमेयरमा जनमोर्चाले उम्मेदवार उठाउनेछन् । यसैगरी स्वर्गद्वारी नगरपालिकामा जनमोर्चाले मेयरमा र माओवादीले उपमेयरमा उम्मेदवारी दिनेछन् ।

तालमेलअनुसार गौमुखी गाउँपालिकाको अध्यक्षमा माओवादीले जनमोर्चालाई र उपाध्यक्ष पदमा माओवादीलाई जनमोर्चाले सघाउने छन् । सहमति पत्रमा माओवादी प्युठान जिल्ला संयोजक नाराणप्रसाद अधिकारी र राष्ट्रिय जनमोर्चाको अध्यक्ष कृष्णबहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

माओवादी र राजमोको  संयुक्तरुपमा जारी गरेको प्रेस विज्ञप्तिमा सहमतिअनुसार एकअर्का दलका उम्मेदवारलाई सहयोग र समर्थन गर्न पार्टी कार्यकर्ताहरुलाई अनुरोध गरिएको छ । यसअघि एमाले र जनमोर्चाले प्युठानमा तालमेल गर्ने निर्णय भएपनि पछि सहमती भंग भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!