को–को उठदैछन पर्वतका स्थानीय तहमा प्रमुखहरु ? सम्भावित उमेदवारहरुको नामावली सहित

Posted on: 16 Mar, 2017

३ चैत्र, पर्वत । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति तोकेको छ । निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालयहरुले स्थानीय चुनावको तयारी तिब्र पारेका छन । सरकारले चुनावको सवै जसो तयारीहरु गरीरहेको बेला जिल्ला जिल्लामा भने चुनावका उमेदवारहरुको अपेक्षित चर्चा हुन भने हुन सकिरहेको छैन ।


केहिले चुनाव तोकिएको मितिमा हुनेमा शंका गरीरहेका छन भने, केहि संघियतामा गएको स्थानीय तहको समिकरणको उचित ब्यवस्थापन नभएसम्म चुनाव नहुने विश्वास गरीरहेका छन् । स्थानीय स्तरमा र राजनैतिक दलहरुका वीचमा जे जस्ता सम्भावनायुक्त कुराहरु उठेपनि सरकारले चुनावको तयारीमा कुनै कसुर बाँकी राखेको छैन ।


उता, स्थानीय तहको चुनावको बारेका धेरै थोरै चर्चा भने हुन थालेको छ । विशेषगरी सम्भावना भएका उमेदवारहरुले आफ्नो उमेदवारीलाई संस्थागत गर्नमा भित्री रुपमा लागेका छन भने टोल बस्तीहरुमा सम्भावित उमेदवारहरुको नाम लिन थालिएको छ । यी र यस्ता छन सम्भावित पर्वतका स्थानीय तहका उमेदवारहरु ः


जलजला गाउँपालिका


जलजला गाउँपालिकामा नेपाली कांग्रेस र एमाले वीच नै प्रतिस्पर्धा हुने देखिन्छ । उक्त क्षेत्रमा नाङलीङ, बनौ, धाइरिङ र शालिजामा नेपाली कांग्रेसको उपस्थिती राम्रो छ भने, माझफाँट, बासखर्क लगाएतका ठाउँमा एमालेको उपस्थिती पनि सन्तोषजनक छ । दुई पक्षमा उमेदवारको अवस्था हेरेर मत विभाजन हुने स्थानीय स्तरमा अनुमान गरिएको छ ।

जलजला गाउँपालिकाको केन्द्र विवादका कारण पनि मत विभाजनमा असर पर्ने समेत अनुमान छ । नेपाली कांग्रेसको तर्फबाट भवानीशंकर उपाध्याय, दुर्गाबहादुर क्षेत्री र रुद्र आचार्यलाई सम्भावित गाउँपालिका प्रमुखको रुपमा हेरिएको छ । उता, एमाले तर्फ भने उदय सुवेदी, लालबहादुर अधिकारी र यज्ञ सुवेदी मध्ये एक जनाले गाउँपालिका प्रमुखको उमेदवार पार्टी तय गर्नसक्नेछ । माओवादी केन्द्रमा भने जनयुद्धकाल देखि नै दुःख गरेका बाबुराम कार्की र दिपक शर्मा आकाश उमेदवार बन्नसक्नेछ ।

कुश्मा नगरपालिका

कुश्मा नगरपालिका जिल्लाको सवैभन्दा शक्तिशाली र श्रोत साधन युक्त नगरपालिका हो । जिल्ला सदरमुकाम समेत रहेको कुश्मा क्षेत्रको नगरपालिका प्रमुखले सांसदले भन्दा बढि श्रोतको परिचालन र शासन गर्न पाउने अनुमान गरिएको छ ।


यस क्षेत्रमा पनि नेपाली कांग्रेस र नेकपा एमाले वीच नै प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि माओवादी केन्द्र र राप्रपाको उपस्थितीले पनि मत परिणामलाई असर पार्ने अनुमान गरिएको छ ।


नेपाली कांग्रेसको तर्फबाट रामचन्द्र जोशी, गंगाधर शर्मा, डा.चूडामणी शर्मा, बसन्त सिके, राम शर्मा पौडेल, मोहन आचार्य, विद्धान गुरुङ मध्येबाट एक जना उमेदवार बन्ने देखिन्छ । उनीहरु आन्तरीक रुपमा आफ्नो उमेदवारीलाई बलियो बनाउन लागिपरेका छन ।

यसैगरी कुश्मा नगरपालिकामा एमालेको तर्फबाट गणेश पौडेल, पदम गिरी, गोविन्द पहाडी, शान्त पौडेल र मेधनाथ सुवेदी मध्ये एक जना नगरपालिका प्रमुखको उमेदवार हुनसक्ने गरी चर्चा चलेको छ ।


माओवादी केन्द्रको तर्फबाट सभासदमा उठेका नेत्र अधिकारी, अर्का सभासदका उमेदवार मनरुपा सुवेदी,  ढाकाराम गौतम सन्देश, सुदीप कुवंर, शंकर गिरी मध्येबाट उमेदवार हुनसक्ने अनुमान गरिएको छ ।

मोदी गाउँपालिका


उता, मोदी गाउँपालिकामा पनि दुई ठूला दलहरु वीच नै प्रतिस्पर्धाको अनुमान गरिएको छ । मोदी गाउँपालिकामा कांग्रेसको तर्फबाट विश्वप्रकाश प्रसाइ र मिना केसीको सम्भावना छ भने एमालेको तर्फबाट भक्त कुवंर, प्रेम लामिछाने, प्रेम पौडेल, लोकन्द्र लामिछाने, बिमल लामिछाने, सेती महत र हिरादेवी शर्मा मध्ये एक जना उमेदवार बन्नेछन । माओवादी केन्द्रमा मनहरी तिमिल्सीना र मनबहादुर पौडेलको चर्चा छ ।

फलेवास नगरपालिका


यसैगरी फलेवास नगरपालिकामा पनि नेपाली कांग्रेस र एमाले वीच नै प्रतिस्पर्धा हुने देखिन्छ । खानीगाउँ, लिमिठाना, ठानामैला, कार्किनेटा लगाएतका गाविसमा एमालेको उपस्थिती राम्रो छ भने धेरै मतदाता भएको शंकरपोखरीमा भने नेपाली कांग्रेसको उपस्थिती मजबुद छ । उता, देविस्थान, मुडिकुवा, भंगरा र थापाठानामा पनि दुवै पार्टी वीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

उक्त नगरपालिकामा नेपाली कांग्रेसका गंगाधर तिवारी, गंगाराज शर्मा लगाएतको चर्चा छ भने, एमालेको तर्फबाट मोती शर्मा, पदमपाणी शर्मा, कृष्ण लम्साल, मञ्जु लम्साल र देवेन्द्रराज पाण्डे मध्ये कोहि एक जना उमेदवार बन्नेछन ।


महाशिला गाउँपालिका

जिल्लाको दक्षिण क्षेत्रमा रहेको महाशिला गाउँपालिकामा एमालेको उपस्थिती राम्रो देखिन्छ । होश्राङदी, बालाकोट, भोक्सिङ, पाखापानीमा एमालेको उपस्थिती राम्रो छ भने नेपाली कांग्रेसको पनि लुंखु र फलामखानीमा राम्रो उपस्थिती छ । उक्त गाउँपालिका नेपाली कांग्रेसको भन्दा बढि एमालेका नेताहरुको चर्चा बढि छ । कांग्रेसका एकबहादुर हमाल सम्भावना यो गाउपालिकामा राम्रो रहेको बताइन्छ ।

एमालेको तर्फबाट राजु पौडेल, इश्वरी भुषाल, जीवन उचै ठकुरी, विष्णुराम विक, र भक्तराज सुवेदीको चर्चा छ । उनीहरु मध्येबाट गाउँपालिका प्रमुखमा उमेदवार रहन सक्छनेछन । माओवादी केन्द्रको तर्फबाट दुर्गा तमुको चर्चा छ ।

विहादी गाउँपालिका

जिल्लाको बिहादी गाउँपालिकामा भने माओवादी केन्द्रको सम्भावना अगाडि देखिन्छ । त्यस क्षेत्रका कृष्ण पराजुली जिल्ला स्तरमा राम्रो प्रभाव पारेका नेता भएका कारण माओवादी केन्द्रको तर्फबाट कृष्ण पराजुलीको सम्भावना छ भने, एमालेको तर्फबाट कमल भुषालको सम्भावना छ ।

उता, नेपाली कांग्रेसको तर्फबाट खिमप्रसाद भुषाल,  र हरी न्यौपानेको चर्चा छ । भुषाल नेपाली कांग्रेसका जिल्ला अध्यक्ष समेत हुन । तीन वटै दल वीच कडा प्रतिस्पर्धाको अनुमान यस गाउँपालिकामा गरिएको छ ।


पैयू गाउँपालिका


जिल्लाको सुदुर दक्षिणमा रहेको पैयू गाउँपालिकामा त्रिकोणात्मक प्रतिस्पर्धाको सम्भावना छ । त्यस गाउँपालिकामा कांग्रेसको तर्फबाट खगेन्द्र तिवारी, भिमसेन गुरुङको चर्चा छ भने, एमालेको तर्फबाट मित्रलाल बस्याल, मेहेन्द्र श्रेष्ठ, जिवलाल बस्याल, चोलाकान्त न्यौपानेको सम्भावना रहेको छ । माओवादी केन्द्रको तर्फबाट भने जयनारायण तिवारीको सम्भावना रहेको छ ।

स्थानीय तहको निर्वाचनको मिति नजिकै आइरहँदा उमेदवारहरुले अनौपचारिक रुपमा आफ्नो उमेदवारी भने सार्वजनिक गरीरहको छन। उमेदवारी कसरी निक्यौल गर्ने भन्ने विषयमा माओवादी केन्द्रले कार्यविधि तयार गरे पनि नेपाली कांग्रेस र नेकपा एमालेले भने अझै तय गरी सकेको छैन । एमालेको मेची महाकाली अभियान पछि यस विषयमा चर्चाहुने अनुमान गरिएको छ भने नेपाली कांग्रेसले पनि छिट्टै कार्यविधि तय गर्ने गरी तयारी गरीरहेको बुझिन्छ ।

न्यूजपर्वतबाट साभार

यस बिषयमा तपाइको प्रतिक्रिया...!