मतदाता नामावली संकलन स्थगित, उपनिर्वाचनमा क–कसले हाल्न पाउँछन् भोट ?

Posted on: 17 Sep, 2024

असोज १, काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली संकलनकाे काम स्थगित गरेको छ । आगामी मंसिर १६ गतेका लागि स्थानीय तहको उपनिर्वाचन तोकिसकेकाले मतदाता नामावली संकलन कार्य स्थगित गरिएको आयोगले जनाएको छ ।

आइबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १६ गतेका लागि उपनिर्वाचनको मिति तोकिसकेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार सोमबारसम्म दर्ता नामावली मात्र मान्य हुनेछ । आयोगले सोमबारकै निर्णयबाट मंगलबारदेखि मतदाता नामावली संकलन गर्न रोक्ने निर्णय गरेको उनले बताए ।

निर्वाचनको घोषणा गरेपछि त्यो निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न नपाइने कानूनी व्यवस्था छ । निर्वाचनको मिति घोषणा भएको अनौपचारिक जानकारी पछि सोमबार बसेको आयोगको बैठकले नामावली संकलन रोक्न देशभरका जिल्ला निर्वाचन कार्यालयमा परिपत्र गर्ने निर्णय समेत गरिसकेको छ ।

अहिलेसम्म संकलन भएको नामावली निर्वाचन आयोगले वडा तहमा प्रकाशित गर्नेछ र त्यसमा दाबी विरोध भए उजुरी दिन आह्वान गर्नेछ र दाबी विरोध भए छानबिनपछि अन्तिम नामावली प्रकाशित हुनेछ । त्यही अन्तिम नामावलीमा परेका मतदाताले मात्रै आगामी स्थानीय तहको उपनिर्वाचनमा मतदान गर्न पाउने छन् । तीन स्थानीय तहका प्रमुख तथा अध्यक्षसहित ४१ स्थानमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!