विश्वासको मत लिने तयारीमा आज मधेशका मुख्यमन्त्री यादव

Posted on: 05 Jun, 2024

जेठ २३, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने तयारी गरेका छन् ।

मुख्यमन्त्री यादवको विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । आफूले विश्वासको मत लिने भनेर मुख्यमन्त्री यादवले मंगलबार मात्र प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए ।

उनले विश्वासको मत नपाउने निश्चित जस्तै छ । त्यसैले विश्वासको मत लिने वा राजीनामा दिने भन्ने विषयमा आज दिउँसो १०  बजे बस्ने जसपा संसदीय दलको बैठकले तय हुने एक सांसदले बताए ।

एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलले समर्थन फिर्ता लिएपछि यादवले आज पुनः विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो । 

कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाछ।

डेढ वर्षअघि मुख्यमन्त्री बनेका यादवले यसअघि चारपटक विश्वासको मत लिइसकेका छन्। आज उनले पाँचौँ पटक विश्वासको मत लिन लागेका हुन्। 

१०७ सदस्य मधेश प्रदेश सभामा एमालेको सभामुखसहित २५, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादीको ७ सिट छ । त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको एक/एक सिट छ । सरकार बनाउन वा बचाउन चाहिने अवश्यक ५४ सिट जसपाको पुग्दैन ।

एमाले, माओवादी केन्द्र, जनमतसहितको विपक्षी गठबन्धले जनमत पार्टीलाई मधेसको मुख्यमन्त्री दिने सहमति गरिसकेका छन्। सोहीअनुसार जनमत पार्टीकाे तर्फबाट सप्तरीबाट निर्वाचित महेशप्रसाद यादव मधेस प्रदेशको अबका मुख्यमन्त्री हुने चर्चा छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!