राजनीतिक शक्तिहरू विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्छ- सभामुख घिमिरे

Posted on: 23 Apr, 2024

बैशाख ११, काठमाडौँ | सभामुख देवराज घिमिरले लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै सबै राजनीतिक शक्ति देशको समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताएका छन् । 

सभामुख घिमिरले लोकतन्त्र दिवसको शुभकामना दिदै नेपालमा विभिन्न समयमा भएका प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

सभामुखको सन्देश:

लोकतन्त्र दिवस– २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दछु । नेपालमा विभिन्न समयमा भएका प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

२०६२-६३ सालको आन्दोलनपछि राजाको प्रत्यक्ष र निरकुंश शासनको अन्त्य भएको दिनको सम्झनामा नेपालले २०६५ सालदेखि वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रूपमा मनाउने गरेको हो । लोकतन्त्रको जगमा लामो समयसम्मको राजनैतिक अस्थिरता एवं सङ्क्रमणपश्चात् मुलुकमा लोकतान्त्रिक पद्दतिबाट संविधान निर्माण भई कार्यान्वयनमा आइसकेको छ । नयाँ संविधान बमोजिम २०७४ र २०७९ सालमा तीन वटै तहका निर्वाचन सम्पन्न भएका छन् ।

लोकतन्त्रपछि राजनीतिक व्यवस्थामा परिवर्तन आए पनि जनताको जीवनमा परिवर्तन आउन नसकेको यथार्थता हामीसँग छ । लोकतन्त्रभन्दा राम्रो अर्को शासन व्यवस्था हुन सक्दैन । यसै कुरालाई हृदयङ्गम गरेर सम्पूर्ण राजनीतिक शक्तिहरू विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता देखेको छु ।

लोकतन्त्रले नै अधिकारमुखी, समावेशी र सन्तुलित विकासको लागि आधार प्रदान गर्छ । जनमुखी लोकतन्त्र नै वास्तविक लोकतन्त्र हो । यसलाई सार्वजनिक नीति, योजना, कार्यक्रम र तिनको कार्यान्वयनमा उतार्नु जरुरी छ । नेपालको लोकतन्त्रको रक्षा र प्रवद्र्धनमा नेपालको संसदले विगतदेखि नै उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।

अन्त्यमा, लोकतन्त्र दिवसले लोकतन्त्रलाई केन्द्रमा राखेर जनमुखी विकासका लागि प्रेरणा प्रदान गर्ने विश्वास सहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!