दुर्गा प्रसाईंका बडिगार्डलाई पक्राउ प्रकरण: सर्वोच्चले सरकारसँग माग्यो जवाफ

Posted on: 20 Mar, 2024

चैत ७, काठमाडौँ | व्यवसायी दुर्गा प्रसाईंका दुईजना बडिगार्डलाई पक्राउ प्रकरणमा सर्वोच्च अदालतले सरकारसँग ३ दिनभित्र लिखित जवाफ दिन भनेको छ।

सोमबार सर्वोच्च अदालत परिसरबाट पक्राउ परेकाा २ जना बडिगार्डलाई मुद्दा चलाउन मंगलबार जिल्ला अदालत काठमाडौं ५ दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ।

यस्तोमा दुर्गा प्रसाईको तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हालिएको थियो। 

पक्राउ परेका रामकुमार धिमालको हकमा रिया राजवंशीले गृह मन्त्रालय सिंहदरबारसहित विभिन्न ७  वटा सरकारी निकायलाई विपक्षी बनाउँदै बन्दी प्रत्यक्षीकरण रिट हालेकी थिइन्।

उक्त रिटमाथि सुनुवाइका क्रममा न्यायाधीश सारंगा सुवेदीले ३ दिनभित्र लिखित जवाफ दिन विपक्षीका नाममा आदेश दिएकी हुन्। 

उता पक्राउ परेका अर्का बडिगार्ड दीपक खड्काको हकमा श्रीमती शान्ता खड्काले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको रिटमा पनि न्यायाधीश महेश शर्मा पौडेलले ३ दिनभित्र लिखित जवाफ दिन सरकारलाई आदेश दिएका हुन्। 

सोमबार सर्वोच्च अदालत परिसरबाट जर्मनीमा निर्मित अत्याधुनिक लाइसेन्स प्राप्त हतियारसहित पक्राउ परेका ती दुईजना बडिगार्डलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो। 

सोमबार दिउँसो सर्वोच्च अदालतभित्र उनीहरू हतियार लिएर प्रवेश गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइका क्रममा उनका बडिगार्डहरू हतियार लिएर प्रवेश गरेका थिए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!